‘वर्षा र भूमिगत पानीले नै रानीपोखरी भर्न सकिन्छ, स्वीमिङ पुल नबनाऔं’ (भिडियो) • Image Khabar Image Khabar


‘वर्षा र भूमिगत पानीले नै रानीपोखरी भर्न सकिन्छ, स्वीमिङ पुल नबनाऔं’ (भिडियो)


Imagekhabar
१५ श्रावण २०७७, बिहीबार १९:५१

ranipokhari

नरेन्द्र मानन्धर, रक्षा बज्राचार्य र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, साउन १५ । रानीपोखरीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले डिप बोरिङ गरेर पानी भर्न थालेपछि अभियन्ता, भूमिगत जलविद् र भौगर्भिक जल व्यवस्थापकहरुले आपत्ति जनाएका छन् ।

वर्षा र भूमिगत पानी सजिलै पोखरीमा झार्न सकिने अवस्था रहेकोले डिप बोरिङ गरेर पानी नभर्न भूमिगत जलविज्ञहरुले जोड दिएका छन् ।

काठमाडौंको पुरातात्विक र ऐतिहासिक महत्वको लानी पुखु अथवा रानीपोखरी ।

पोखरी नेपालमण्डलको सभ्यतामा धार्मिक, साँस्कृतिक र तन्त्र दर्शनसँग अभिन्न अंगको रुपमा रहेको छ ।

२०७२ सालको महाभूकम्पमा मन्दिरमा मात्र पुगेको क्षतिपछि अहिले पोखरीसहित पुनःनिर्माण भइरहेको छ । तर, पोखरीको सभ्यताको मर्म र भावनाविपरीत पुनःनिर्माण भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

सिरान पोखरीको रुपमा समेत रहेको यो पोखरीमा प्राकृतिक बाह्य र भूमिगत पानी न भित्रिने अवस्था छ न त बाहिरिने अवस्था नै ।

अहिले पुनःनिर्माणको नाममा परम्परागत शैलीमा सौन्दयकरणमात्र भइरहेको देखिन्छ ।

पोखरीको उत्तर–पूर्वी कुनामा पानी भित्रिने दुईओटा डुँड र दक्षिण–पूर्वी कुनामा पानी बाहिरिने डुँड रहेको थियो । तर, पुनःनिर्माणको क्रममा कंक्रिट संरचनाले यो नष्ट भएको छ ।

प्राचीन पोखरी स्वीमिङ पुलको रुपमा परिणत हुने खतरा रहेको भन्दै अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले डिप बोरिङ गरेर पानी भर्न थालेपछि अभियन्ताहरु यसलाई रोक्ने प्रयासमा छन् ।

करोडौं लिटर पानी रहने पोखरीमा पानी निस्कने निकास नै नहुँदा पोखरीमा ‘ओभर फ्लो’ भएर पछि समस्या आउनसक्ने भूमिगत पानी व्यवस्थापनविज्ञहरुको भनाइ छ ।

अहिले पानी भित्रिने र बाहिरिने परम्परागत विधि र स्रोतलाई संरक्षण गरेर आकाशे र भूमिगत पानी नै सजिलै पोखरीमा भर्नसक्ने उनीहरुको जिकिर छ ।

भूमिगत पानी व्यवस्थापनविज्ञ पद्यसुन्दर जोशी रानीपोखरी वरिपरि भूमिगत जलको भण्डार रहेकाले विगतकै प्राकृतिक बहाबलाई संरक्षण र व्यवस्थापन गरेर दीर्घकालीनरुपमा नै पानी भर्न सकिने बताउनुहुन्छ ।

परम्परागत पोखरी संरक्षणविज्ञ सुशील श्रेष्ठ वर्षाको पानी विभिन्न चरणमा शुद्धीकरण गरेर पोखरीमा झार्न सकिने बताउनुहुन्छ ।

पानीपोखरीको प्राण भएकाले नष्ट भएका डुँड बनाएर वर्षा र भूमिगत पानी प्रयोग गर्न तर डिप बोरिङ नगर्न उहाँको सुझाव छ ।

सात–सातओटा विश्व सम्पदा रहेको काठमाडौं उपत्यका धार्मिक, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेको सहर हो ।

तसर्थ, यहाँ कुनै किसिमको विकास निर्माण र पुनःनिमाणको काम गर्दा प्राचीत सभ्यता, संस्कृति र मौलिक सम्पदाप्रति संवेदनशील हुन जरुरी छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्