नेकपामा दाहाल–नेपालको बहुमतलाई हाराबारा खेलाउँदै ओली • Image Khabar Image Khabar


नेकपामा दाहाल–नेपालको बहुमतलाई हाराबारा खेलाउँदै ओली


Imagekhabar
१३ श्रावण २०७७, मंगलवार १८:१९

नेकपामा दाहाल–नेपालको बहुमतलाई हाराबारा खेलाउँदै ओली

राजन कुईंकेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वर्तमान नेपालको संसदमा सर्वशक्तिमान दल । संसदमा जसको झण्डै दुई तिहाई नजिकको बहुमत छ । त्यही संसदीय गणितको बलमा नेकपाका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओली वर्तमानमा नेपाल राज्यको प्रधानमन्त्री छन् । उनले राज्यसत्ता भोगका लागि जुन शक्ति र अवसर पाएका छन्, ‘भूतो न भविष्यति’ हुनेछ सायद ।

नेपालको राजनीतिक इतिहासमा जनताबाटै मत पाएर दुई तिहाईनजिकको शक्ति परिचालन गर्ने अवसर दुई जनालाई मात्र मिलेको छ । २०१५ सालमा नेपाली कांग्रेसका प्रधानमन्त्री वीपी कोइराला र २०७४ सालको निर्वाचनबाट केपी ओली । तर परिवेश, चेतना र स्रोत–साधनका दृष्टिले आकाश–जमीनको अन्तर छ ।

२०१५ सालमा वीपी संसदमा आफ्नो दल नेपाली कांग्रेससँग भएको दुई तिहाई बढी मतबाट प्रधानमन्त्रीमा निर्वाचित थिए, यो सत्य हो । उत्तिकै सत्य के पनि हो भने त्यो सरकार जनतामा सार्वभौमसत्ता केन्द्रित सर्वशक्तिमान थिएन । जस्तो अहिले नेकपा र केपी ओलीसँग छ । सार्वभौमसत्ता राजामा रहेको राजाबाट उपहार प्राप्त संवैधानिक चुनौतिलाई स्वीकारेरै वीपी प्रधानमन्त्री बनेका थिए ।

वीपीलाई थाहा थियो, आफ्ना सीमा र बाध्यताहरु । तैपनि उनले निडरतापूर्वक अर्को शदीसम्मका लागि पनि मार्गदर्शन हुने खालका आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक नीति र कार्यशैली अपनाए । परिणाम उनी घरेलु सत्ताकांक्षा बोकेका राजा महेन्द्र र वैदेशिक क्षेत्रमा प्रतिष्पर्धी ठान्ने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको कोपभाजनमा परे । जम्माजम्मी १८ महिनाको शासनावधिमा वीपीले जे देखाए, जे नीति अवलम्बन गरे, नेपालको राजनीतिमा उनी निर्विकल्प जनताको प्रतिनिधि बनेर बाँचे । अझ युगौं बाँचिरहने छन् सायद ।

संसदको त्यत्तिकै गणित तर वास्तविक रुपमा राज्यको सम्पूर्ण शक्ति बोकेर सिंहदरबारको कुर्सीमा पुगेका ओलीले आफूलाई इतिहाससम्म जिवित रहने गरी प्रमाणित गर्न सकेनन् । पार्टीभित्रैको किचलो सम्हाल्न नसक्दा उनको पद भीरको चिचिण्डो बनेर लट्किरहेको छ । उनलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद त्याग्न माओवादीबाट भित्र्याएर पार्टीमा अर्का अध्यक्ष बनाएका पुष्पकमल दाहाल र जीवनभर सँगै राजनीति गरेका सहयोद्धा माधव नेपाल–झलनाथ खनालबाट दबाब आइरहेको छ ।

पद त्याग्न दबाब दिनेहरुले ओलीमाथि संगीन आरोपको वर्षा गरेका छन् । पार्टीमा फरक मत राख्नेहरुको अस्तित्व लोप गराउन खोजेको आरोप छ । त्यतिमात्र कहाँ होर ? उनीमाथि मुलुकमा अमनचयन कायम गर्न नसकेको, दैनिक भइरहेका बलात्कारका घटनाबाट बालिका/किशोरी/महिला सुरक्षित बनाउन नसकेको, राज्यका सम्पूर्ण अंगहरुमा एकलौटी गरेको आरोप छ । राज्यको स्रोत र साधन आफूनिकटका व्यापारी/व्यवसायीलाई पोसेको, अर्थव्यवस्था डाबाडोल बनाएको, लगानीको वातावरण बनाउन नसकेको आरोप छ ।

कूटनीतिक रुपमा राष्ट्रलाई विफल बनाएको, निकट छिमेकीसँगको सम्बन्धमा ठूलो दरार ल्याएको, पार्टी बहुमतमा हुँदाहुँदै आफ्नै दल फुटाउन दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर षड्यन्त्र गरेको, मधेशी दल फुटाउन आफ्नानिकट पात्रहरुलाई परिचलान गरेर अस्थीरता मच्चाउन खोजेको आरोप पनि छ । धार्मिक र सामाजिक आस्था विथोल्ने खालका अभिव्यक्ति दिएर पार्टीकै साख धूमिल बनाएको, पार्टीभित्र एक पक्षलाई समातेर अर्को पक्षलाई भित्तै पुग्नेगरी पेलेको, आफ्नो भक्तिगान नगाउनेलाई सबै अवसरबाट बन्चित गराएको आरोप उनका विरोधीहरुले लगाएका छन् ।

नाकाबन्दीका समयमा आफूले लिएको अडानले नै पार्टीलाई सफलता दिलाएको र यसमा अरुको कुनै भूमिका नभएको जस्तो व्यवहार देखाएर ‘म नै राज्य हूँ’ भन्ने अहंकार पलाएको आरोप पनि उनीमाथि लागेको छ । अझ राष्ट्रिय सहमतिपूर्वक प्रकाशित लिम्पियाधुरा–लिपुलेक–कालापानी समेटिएको नक्शालाई आफ्नो एकलौटी जस देखाएर देवत्करण गराउन खोजेकामा दाहाल–नेपाल समूह चरम रुष्ट छ । त्यसमा पनि नक्शा निकालेपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीकै नेताहरु संलग्न रहेको बताएपछि उनलाई जसरी पनि हटाउने अभियानमा दाहाल–नेपाल–खनालसहितका बहुमत नेताहरु एकसाथ उभिएका छन् । दुई वर्षअघि राजनीतिक जीवनकै उत्कर्षमा रहेका ओली यतिबेला वर्तमानमा चरम अधोगतिको यात्रामा छन् ।

तर नेकपाभित्रको राजनीतिमा रमाइलो के छ भने, सम्पूर्ण पार्टी पंक्तिभित्र बहुमतमा रहेको दाहाल–नेपाल समूह ओलीमाथि कार्वाहीको तीर चलाउन सकिरहेको छैन । धोबिघाट, खुमलटार, कोटेश्वर, भैसेपार्टी, धुम्बाराहीदेखि बालुवाटारसम्मका बैठकमा जतिसुकै नेताहरु कुर्लिएपनि ओलीको अघिल्तिर पुगेपछि ‘हुँच्चिलले नाघेको बिरोलो’ झै बन्ने गरेका छन् । अनेकन कुनामा बसेर ओलीलाई नहटाइ नछाड्ने कसम खाएर दाहाल–नेपाल पक्ष जब बालुवाटार ओलीसमक्ष पुग्छन् अनि लज्जावती झारझै हुन्छन् । उनीहरुको बहुमत एकाएक स्खलित हुन्छ ।

यसैगरी ओलीले दाहाल–नेपाललाई हाराबारा खेलाउन थालेको ६ महिनाभन्दा बढी भैसक्यो । ओली टसकामस छैनन् । बरु उनी बहुमत पक्षमा रहेकै नेताहरु मध्ये कहिले कस्लाई त कहिले कस्लाई अफूतिर तानेर विपक्षको सम्भावित प्रहारलाई निरस्त्र बनाउन खप्पिस छन् । यसका लागि उनले सबैभन्दा बढी प्रयोग गरिरहेका छन्, बामदेव गौतमलाई । रामबहादुर थापालाई पनि आफूतिर तानेर दाहालको शिविरमा हैरानी मच्चाइदिइरहेका छन् ।

यसबीच उनले दाहाल–नेपाल समूहलाई बुझिने गरी सन्देश मात्र होइन प्रष्ट भनिसकेका छन्, ‘म प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्दिँन । राजीनामा दिन्न । प्रधानमन्त्री बन्ने इच्छा छ भने अर्को चुनावबाट जितेर आउनु । अध्यक्ष बन्ने हो भने आगामी महाधिवेशनबाट चुनिनु ।’

प्रतिक्रिया दिनुहोस्