१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण


0
Shares

काठमाडौं, असार ३० । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक जितेका छन् ।

नेपाल आइटीएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा शुक्रबारदेखि सन्चालन भएको सिनियर महिला स्पर्धाको ५५ केजीमुनिको स्पाइरिङको फाइनलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् ।

सिनियर महिला स्पर्धाको ६४ केजीमुनिको स्पाइरिङको फाइनलमा करिश्माले भारतकी भेदिका शाहलाई पराजित गर्दै स्वर्णपदक जितिन् ।

सिनियर महिला स्पर्धाको ४७ केजीमुनि नेपालकी रुबिका खड्काले भारतकी विकानश्रीलाई, ५२ केजीमुनि नेपालकी रञ्जु पुलामीमगरले चीनकी हुइङ साङ ताङलाई, ६२ केजीमुनि भारतकी एस भारतीले नेपालकी श्वेता राईलाई तथा ७५ केजीमुनिको समूहमा नेपालकी सिर्जना राईले बंगलादेशकी सान्तोना रानीलाई आ–आफ्नो खेलमा हराउँदै स्वर्ण जिते ।

जुनियर महिला स्पाइरिङको ४० केजीमुनि भारतकी आर मल्लिकले नेपालकी स्वस्तिका सुवेदी, ४५ केजीमुनि नेपालकी अबिना राईले भारतकी प्रमिका श्रीबंस, ४७ केजीमुनि भारतकी आयुषाले नेपालकी वर्षा सुनुवार, ५० केजीमुनि भारतकी कुसुम मिठाले नेपालकी रोशनी कुँवर, ५२ केजीमुनि नेपालकी निश्चल राईले बंगलादेशकी सपना किन्तोनिया, ६० केजीमुनि नेपालकी कोपिला स्याङताङले भारतकी प्रनिका सूर्यवंसीलाई आ–आफ्नो खेलमा हराउँदै स्वर्ण जित्न सफल भए ।

महिला जुनियर स्पर्धाको ५५ केजीमुनि नेपालकी अनिषा कार्कीले स्वर्ण जितेकी छन् ।

जुनियर पुरुषको २२ केजीमुनिको स्पाइरिङमा नेपालका लक्की राईले स्वर्ण जितेका छन् । उनले चीनका स्याउमिङलाई पराजित गरेका हुन् ।

जुनियर पुरुषको २७ केजीमुनि चीनका याङ थाङ लीङले भारतका फिग्नेस कृष्णलाई हराउँदै स्वर्ण जिते ।

आइतबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, र तुर्कमेनिस्तानका गरी ६०० खेलाडीले १५० स्वर्ण, १५० रजत र ३०० कास्यपदकका लागि प्रतिस्पर्धा गर्दैछन् । रासस