कबड्डी खेल्ने कि सुमो ? • Image Khabar Image Khabar


कबड्डी खेल्ने कि सुमो ?


Imagekhabar
१० श्रावण २०७७, शनिबार ०७:४१

कबड्डी खेल्ने कि सुमो ?

-लाओस राई

युवाहरु जम्मा हुने बित्तिकै कुनै न कुनै खेल खेलिरहेका हुन्छन् । या त खेलाडीहरुकै बारेमा कुरा गरिरहेका हुन्छन् । अझै विश्वकप तथा ओलम्पिक फुटबल खेल भईरहेको हुनुपर्छ जहाँत्यहीं खेलाडीहरुकै चर्चा भइरहेको हुन्छ । टोलैभरी, बाटैभरी विभिन्न रंगको जर्सी लगाएका युवाहरु हिंडिरहेका हुन्छन् । लाग्छ कि सारा शहर एक बगैचा जस्तै भएको छ । त्यस्तो खालको व्यवहारलाई युवाहरुको सृजनशिलता प्रतिको आकर्षण, अन्तरात्मादेखि उत्पन्न हुने प्रेम तथा समर्पण भाव भन्न सकिन्छ । जसले युवाहरुबीच एक आपसमा भावनात्मक सम्बन्ध स्थापित गर्न मद्दत गर्दछ । साथै विश्व बन्धुत्वको भावनात्मक उचाइ पनि प्रितिबिम्बित गर्दछ । त्यसको पछिल्लो उदाहरण दुई वर्ष अघि दुई कोरियाबीच भएको खेलले निर्माण गरेको सम्बन्धलाई लिन सकिन्छ । त्यसैले खेललाई सेतु पनि भन्न सकिन्छ ।

विश्वमा धेरै खेलहरु छन् । ति खेलहरुका आ-आफ्नै नियम र बिशेषता छन् । ति सबै खेलहरुको बारेमा चर्चा नगरी आज हामी त्यस्ता खेलहरुको बारेमा चर्चा गर्न गईरहेका छौँ जुन खेल खेल्न बुद्धि कम र बल ज्यादा आवश्यक पर्छ । त्यस्तो बल प्रधान खेल सुमो र कबड्डी खेललाई मान्न सकिन्छ । सुमो खेलमा निश्चित गोलो घेरा भन्दा बाहिर प्रतिस्पर्धीलाई बलले हुत्याईन्छ वा लडाइन्छ र हार जितको घोषणा हुन्छ । सुमो खेल मोटा मोटा मान्छेले खेलिने भएपनि एकै छिनमा सकिन्छ । तर कबड्डी भने सुमो जस्तो खेल होइन । कबड्डी खेलमा बिपक्ष टिमको खेलाडीलाई एक एक गर्दै घेरा बन्दीमा पर्दै लडाइँन्छ र बन्दी बनाइन्छ । खेल्दै जाँदा जुन टिमको खेलाडी सकिन्छ त्यस टिमको हार हुन्छ । खेलाडी धेरै हुने टिमको जित हुन्छ । यी दुवै खेलमा बुद्धी भन्दा बल प्रधान हुन्छ । त्यसैले कबड्डी र सुमो खेलमा लुते, पिलन्धरे,कमजोरको स्थान हुँदैन ।

बलको प्रमुख भूमिका हुने कबड्डी र सुमो जस्तै खेलहरु अनगिन्ति भएपनि ति खेलहरुको बारेमा चर्चा गर्नु भन्दा अब बलियो बाङ्गो देशहरुले खेल्ने राजनीतिक कबड्डी खेलको बारेमा चर्चा गरौँ । विश्व राजनीतिमा आइरहेको परिवर्तनलाई एकैछिन स्मरण गरौं । बलकै भरमा स्पेनले ब्राजिललाई पछारेर छातीमा टेकेको इतिहांस भैसकेको छ । त्यसैगरी बेलायत, फ्रान्स अमेरिका जापानले पनि बलकै माध्यमले धेरै देशलाई पछारेर, लडाएर, थिचेको इतिहांस प्रष्ट छ । त्यसैले ति देशहरुले गरेको बलको प्रदर्शनको इतिहांस कसैले पनि भुल्न सक्दैन या भुल्दैन पनि ।

कुनै एक देशले अर्को देशको भुमि माथि कब्जा गर्नु, जनताको स्वभीमान र अस्तित्वलाई समाप्त गर्दै भिन्दै व्यवस्थाको थालनी गर्नु, सुमो खेलमा बिपक्षलाई पछारेको भन्दा पनि बढी अपमानित र बेइजती हो । र कबड्डीमा घेराबन्दी गर्दै लडाएको भन्दा बिलकुल फरक कुरा हो । हो त्यसैगरी बेलायतले ७१ राष्ट्रलाई पछारी छातीमा उनको झण्डा गाड्यो । जापानले चीनसंग कबड्डी खेल्यो । फ्रान्सले नेटो सेनाको बलमा सन् २०११ मा लिबियाको कर्नेल गद्दाफीलाई सुमो खेल्दै परलोक पठायो । अमेरिकाले आतंकवादको नाममा इराक र अफगानिस्थानमा सुमो र कबड्डी खेल्यो । सद्दाम हुसेन र विन लादेनलाई समाप्त नै गर्दियो ।

यसो भनिरहँदा सद्दाम र विन लादेनलाई मार्‍यो मात्र भन्नु खोजिएको कदापी होइन । उनीहरुले निर्माण गरेका आतंकित र भयभित शैली, मानवता विरोधी र आतंककारीको अन्त्य गर्‍यो भन्न खोजेको हो । अझै पनि अमेरिका आतंकवादलाई निर्मुल पार्न कबड्डी खेल्न तयार नै देखिन्छ । सन् २०१४ मा रुसले युक्रेनसंग कबड्डी खेल्यो र क्रिमियालाई कब्जा गर्‍यो । भारत र पाकिस्तानको कबड्डी कारगिल भयो । जम्मु कश्मिरमा अझै भईरहेको छ । अचम्म कुरा त इतिहासमा पहिलो पटक भारतले नेपालसंग लिपुलेकमा कबड्डी खेल्ने प्रयास गर्‍यो । तर नेपालले त्यसको राम्रै प्रतिरक्षा र प्रतिबाद गर्‍यो ।

त्यतिकैमा नेपाल र भारतको सीमा बिबादको कबड्डी सकिएको छैन र सहजै सकिदैन पनि । किनभने दुवै देशले दावाका साथ कुटनीतिक असहमतिका नोटको आदान प्रदान गरिरहेको छन् । त्यसकारणले यो कबड्डी छिटै अन्त्य हुने संकेत देखिन्दैन । अर्को कुरा प्रधानमन्त्रीले दन्त्य कथा भैसकेको अयोध्याको बिषयलाई पुर्नजिवीत गरिदिंदा सम्बन्ध झनै चिसिएको छ । त्यसैगरी हाम्रा दुई छिमेकी मुलुक भारत र चीनले गलावन घाँटीमा कबड्डी खेल्यो ।

दुई शक्तिराष्ट्र चीन र भारतले खेलेको कबड्डी खासै ठुलो बिबादको कारणबाट उत्पन्न भएको घटना हुँदै होइन र थिएन पनि । त्यो त शक्ति उन्मादले मात्तिएका राष्ट प्रमुखहरु र सन्काहा र हेपाहा कमाण्डरहरुको कारण निर्माण भएको घटना हो । त्यस घटनाले न भारतलाई फाइदा भयो न चीनलाई, भयो त केवल दक्षिणपूर्वी एसियामा अस्थिरताको उजागर ।

यी दुई देश बीचको कबड्डी कहिले दोक्लाममा र कहिले गल्वान घाँटीमा भइरहेको घटनाले देखाउंछ । फेरी कबड्डी भनेको नै बलियोले खेल्ने हो । चीन र भारत दुवै बलियो देश नै हुन । समग्रमा भन्ने हो भने यो घटनालाई बिस्तारबादी चरित्र र प्रबृत्तिको कबड्डीको संज्ञा दिंदा उचित देखिन्छ । त्यस दृष्टिकोणबाट हेर्दाखेरि त्यो घटनालाई कुनै नौलो मान्नु पर्दैन । विश्वमा बिस्तारबादीहरुले त्यस्तै गरिरहन्छ । जस्तो चीन र भारतले गरिरहेका छन् ।

नेपालका राजनीतिक पार्टीहरु मुख्यगरि बल बिना राजनीति सम्भव छैन भन्ने कम्युनिष्ट भनिने बामपन्थी पार्टी नेकपा, पुंजीको भूमण्डलीकरण बिना विकास सम्भव छैन भन्ने नेपाली कांग्रेस, पहाडीय राष्ट्रवादको बिरोध गर्ने जनता समाजवादी पार्टी र धर्मको नाममा प्रेतात्मालाई राजनीतिक अस्त्र बनाउने सामान्तीहरुको पार्टी राप्रपाको कुरा गर्ने हो भने यी पार्टीहरु पनि एक-अर्का बीच कबड्डी खेलिरहेका छन् भन्ने घटनाले देखाउंछ ।

मुख्य कुरा यी पार्टीहरुले गरिबी, भोकमरी, अभाव र विभिन्नखाले प्रकोपहरुसंग कबड्डी खेल्नुपर्ने थियो । जनताको चाहना पनि त्यही नै थियो । तर त्यस्तो गर्नुभन्दा पार्टी नायकहरु आफनै पार्टी भित्र एक अर्का बिरुद्ध मोर्चाबन्दी गर्दै कबड्डी खेन्नमा ब्यस्त भएको देखियो । त्यसको पुष्टि नेकपा र कांग्रेसभित्र चुलिएको बिबादले प्रष्ट गर्दछ । पहिलो कुरा नेपाली कांग्रेस भित्रको कबड्डीको प्रशंग कोट्याउँदा लाग्छ कि विचार र सिद्दान्तलाई रद्दीको टोकरीमा हाली पारिवारिक राजनीतिक विरासतको परम्परालाई निरन्तरता दिइरहने र त्यसको बिरुद्ध बिचको कबड्डी जस्तो हो भन्दा ठिक हुन्छ । किनभने कांग्रेसमा नेतृत्वको भोक जगाई रहेका जति पनि ब्यक्तिहरु छन् ति सबै बिचारको भन्दा बिरासत वालाहरु नै छन् ।

रह्यो कुरा पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको उनीहरुपनि कसरी वंश संरक्षण गर्ने र बिरासत निर्माण गर्ने भन्ने काममा लागेपछी अरु बिचरा कांग्रेसहरुको के कुरा गर्नु त्यसकारण कांग्रेस पार्टी पनि चन्द्र शम्सेरले निर्माण गरेको वर्णसंकरिय राणा खलक झैँ भएपछी धेरै भानिरहनु परेन । अर्को कुरा लामो समयदेखि एकोहोरो रुपमा प्रधानमन्त्री केपी ओलीमाथि खनिएको प्रचण्ड, माधव र झलनाथ मोर्चाको घेराबन्दीले ओलीलाई कबड्डी खेल्दै लडाउन खोजेपनि माओको अनुयायीले टेको लगाईदिंदा ढलेको भने छैन ।

केही विश्लेषकहरु थप्छन् घेराबन्दी गर्न उकास्ने धार्मिक अतिबादीहरु अयोध्याबाट नेकपा भित्रको कबड्डी निहाली रहेका छन् । जन जगमा उभिएको ओली सरकार पनि बिगत कै सरकार जस्तै इसारामा उठबस गर्ने कठपुतली झैँ हुने हो भने इतिहास निर्माण गरेको ओलीको के अर्थ भयो ? ओली वास्तवमा खेलाडी त होइनन तर उनले खेलेको कबड्डी विश्व प्रसिद्द खेलाडीले खेलेको खेल भन्दा निकै उच्च छ । निकै एेतिहासिक छ । त्यसैले विर बलभद्र जत्तिकै बहादुर पनि । अन्त्यमा राजनीतिक कबड्डी खेलले नै जनतालाई राजा र राजालाई जनता बनाउँछ । ‘काजीलाई पाजी’र ‘पाजीलाई काजी’ बनाउँछ । कबड्डी खेल्लने कि सुमो, आफै बिचार गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्