कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’ • Image Khabar Image Khabar


कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’


Imagekhabar
५ श्रावण २०७७, सोमबार १५:५९

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ ।

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।

महाशाखाले विश्वस्वास्थ्य संगठनको सहयोगमा कोभिड–१९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ समुदायमा कुन तहसम्म पुगेको छ भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताउनुभयो ।

यसअघि, महाशाखाले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजारजनामा ‘पीसीआर’ परीक्षण गरेको थियो ।

‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्नेछ ।

पीसीआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ले पहिले मानिसमा देखिएका कोभिड–१९ को भाइरस पनि थाहा पाइने हुन्छ ।

‘सेरो सर्वेक्षण’ले कोभिड–१९ को संक्रमण भइ थाहै नपाइ निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ ।

‘तत्काल समुदायमा कोभिड–१९ को संक्रमण कस्तो रहेको छ भनेर पीसीआर परीक्षण गरिन्छ’–उहाँले भन्नुभयो–‘महामारीका रुपमा फैलिएको कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो ।’

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’बाट थाहै नपाइ निको भएका र लक्षण नदेखिएरपनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ ।

नेपालमा कोभिड–१९ का ९७ प्रतिशत संक्रमित विनालक्षणका देखिएका छन् ।

‘सेरो सर्वेक्षण’का लागि महाशाखाले सातओटै प्रदेशका संक्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमुना संकलन गर्नेछ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताउनुभयो ।

‘कोभिड–१९ को संक्रमणबाट कति मानिस आफैं नै सञ्चो भएका छन् । उनीहरुको संक्रमण भए÷नभएको हामीलाई थाहा छैन’–उहाँले भन्नुभयो–‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।’

कोभिड–१९ को भाइरसको संक्रमणको १४ दिनपछि मानिसमा ‘एन्टीबडी’ उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड–१९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टीबडी कति बनेको थाहा हुनेछ ।

‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट संक्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाउने गर्दछ’–उहाँले भन्नुभयो–‘त्यही रोगसँग लड्ने एन्टीबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो ।’

उहाँकाअनुसार चाँडै नै संक्रमणप्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ ।

नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, ११ हजार ६९५ जना संक्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको संक्रमणबाट मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्