थिति बसाल्न चुकेपछि बेथितिको पहाड बन्ने रहेछ देश • Image Khabar Image Khabar


थिति बसाल्न चुकेपछि बेथितिको पहाड बन्ने रहेछ देश


Imagekhabar
१ श्रावण २०७७, बिहीबार ०९:३३

थिति बसाल्न चुकेपछि बेथितिको पहाड बन्ने रहेछ देश

-संजिव कार्की

हरेक व्यवस्था परिवर्तनमा, परिवर्तनपछि प्राप्त हुने लाभ, फल र परिणामको सपना असिमित र राष्ट्रको क्षमता भन्दा पर गएर देखाएको हुन्छ । आन्दोलन सफल पार्न र चुनाव जित्न पार्टीहरुले तय गर्ने नाराको सानो अंश मात्र पनि पुरा हुने र भएको भए आज हामी विकासोन्मुख राष्ट्रबाट विकासशील राष्ट्रको दर्जामा रुपान्तरित हुन्थ्यौ । हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अनि सांस्कृतिक र वैचारिक अवस्था फरक हुन्थ्यो । जनताको जीवस्तरले कम गुनासो गर्ने स्थिति बन्थ्यो । थिति बस्थ्यो, पद्दति र प्रणाली मजबूत हुन्थ्यो । नैतिकता र अनुशासन एकादेशको कथा बन्दैनथ्यो । सुशासन र भ्रष्टाचार किताबमा मात्रै खोज्नु पर्दैनथ्यो । तर आज हामीलाई जे चाहिदैन त्यो सबै छ । जे चाहिन्छ त्यो किताब गोष्टी र नेताको भाषणमा मात्रै भेटिन्छ ।

२०४६ सालको परिवर्तनले नपुगेर २०५१ देखि जनयुद्द हुँदै मधेश आन्दोलन, बिभिन्न जनजाती आन्दोलन, थरि थरि सामाजिक आन्दोलन र समाज परिवर्तन व्यवस्था परिवर्तनका अनेकन आयाम र घुम्ती पार गरेर २०६२÷०६३ को जनान्दोलन पछि देश राजा निकालेर जनताको छोराछोरी देशको सर्वोच्च पदमा पुग्ने व्यक्ति जन्म श्रेष्ठ होइन । कर्म श्रेष्ठ बन्ने परिपाटी अर्थात संघीय गणतन्त्रमा गयो । आफ्नो शासन आफैं गर्ने जनताले गर्ने स्थानीय तहमा शासन आफैंले गर्न संघीय मोडल उपयुक्त ठानियो र त्यतै गइयो । संविधान बाधक भएकोले धेरैपटक संविधान परिवर्तन गरियो । विकास ,स्वतन्त्रता र कर्म स्वतन्त्रताको बाधक राज संस्था ठानियो र राजालाई पनि गलहत्याइयो ।

शासन व्यवस्थामा पूर्ण र भव्य बहुमतवाला सरकार नभएकोले विकास निर्माण र शान्ति सुरक्षा प्रबन्ध गर्न नसकिएको, स्थिरता र समृद्धिको लागि अप्ठ्यारो भएकोले बहुमत हैन दुई तिहाई बहुमतको माग गरियो । जनताले पत्याए । नेकाप एमाले र मओवादी केन्द्रको गठबन्धनलाई दुई तिहाई नजिकको जनमत पनि दिए । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरेर नेकपा बन्यो तर आज स्थिति जे छ सरकारको असुरक्षाको जुन स्थिति र पार्टी विग्रहको जुन दर्दनाक स्थिति छ । त्यसको भागीदार र मतियार को हो ? प्रश्न खडा छ ? जनतालाई अब कुन व्यवस्थाले हित गर्छ ? के हामी राजनीतिक प्रयोगशाला र प्रायोगिक पात्र मात्रै हेरेर बस्ने ? नेताले अब अर्को कुन व्यवस्था र परिपाटी खोजेका हुन ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अबको गन्तव्य हो ? प्रत्यक्ष निर्वाचित प्रणाली चै सफल नै हुन्छ भन्ने ग्यारेन्टी के छ ? त्यसको अवगुण पनि टेष्ट गर्ने अबको नेपाली राजनीतिको कार्यभार हो त ? पक्कै होइन ? पात्र यिनै प्रवृति यिनै अनि राजनीतिक पार्टी यिनै यो असम्भव छ ।

राजनीतिक प्रणाली साधन हो साध्य होइन यदि साध्य नै राजनीतिक प्रणाली हुन्थ्यो भने सफल बिकसित र सम्पन्न राष्ट्रको राजनीतिक प्रणाली एकै हुन्थ्यो । विविध स्वरुपको राजनीतिक प्रणाली भएका मुलुक भएकोले यो प्रणाली र यो वाद मात्र निर्विकल्प वाद र प्रणाली भन्न सकिन्न । न राजतन्त्रवाला मुलुक, न साम्यवादी, न समाजवादी, न पूंजीवादी, न उदारवादी न धार्मिक सत्ता भएको मुलुक सबै आ–आफ्ना बिशेषता र कमजोरीसहित उन्नत छन । बिकसित छन । सम्पन्न र शक्तिसाली छन् । यसर्थ वाद या प्रणाली भन्दा पनि देशका नागरिकको चेतना र नेताहरुको क्षमतामा यी यावत कुरा निर्भर रहन्छ ।

राजनीतिक प्रणाली परिवर्तन गर्दा पूर्व प्रणालीको प्रवृति नव प्रणाली हाक्नेहरुमा सर्नु या रहनु नै पद्दति निर्माण गर्न चुकेको अवस्था र बनेको खराब मार्ग हो । तीस वर्षको पंचायती ब्यवस्थाको बिदाईपछि प्रधानमन्त्री बन्न आएको अफर अस्विकार गरेर राजनीतिको मानक र त्याग अनि निष्ठा संघर्षको पर्याय बन्न गणेशमान सिंहले मार्ग प्रशस्त गरेका थिए । तर गणेशमानको यो महानता आज सम्म कसैले अनुकरण गरेनन बरु आफ्नो सहयात्री समकक्षी आफ्नै पार्टीका नेतालाई खुट्टा तान्ने, लडाउने, असफल बनाउने र गलत हर्कत र निर्मम प्रहार गर्ने उल्टो बाटो तय गरे ।

२०४७ सालको अन्तरिमकालका सफल प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले दुई गम्भीर भूल गरे पहिलो भूल थियो बिना परिक्षा शिक्षकलाई स्वतः स्थाई गर्ने निर्णय । यो अत्यन्त गलत नीतिगत भ्रष्टाचारको शुरुवात थियो । गलत कर्म नियतवस नगरिए पनि त्यसले ल्याउने परिणाम र नतिजा यस्तोहोला भनेर अपेक्षा गरिएन तर ढंग नपुगेको हो । नियत गलत थिएन तर नियतिले गलत बनायो । फलस्वरुप आज विश्व विद्यालयका अस्थाई प्राध्यापकहरुसमेत परिक्षा फेस नगरी स्थाई हुन् पाउ भनेर भोक हड्ताल र आन्दोलनमा उत्रने भए । एउटा देशको सर्वोच्च शैक्षिक थलोका प्राज्ञिक र बौद्दिक बर्गको अवस्था र अवस्थिति तिनको गतिबिधिले देशको सामाजिक चेतनाको स्तर झल्काउछ ।

देश थितिमा छ कि बेथितिमा भन्ने जानकारी दिन्छ यसको मार्ग त्यहि अन्तरिमकालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले गरेको गलत निर्णयको प्रतिफलको सिलसिलाबद्ध नतिजा हो । त्यस्तै भट्टराईको अर्को गलत निर्णय हो मदन भण्डारीको मृत्युपछि रिक्त स्थानमा हुने उप चुनाव लडेर पुनः सत्तामा पुग्ने मोह । जसको कारण खराब थिति बस्यो । एक कार्यकाल चुनावमा पराजित भएपछि पुनः सो अबधिभर चुनावी प्रतिस्पर्धा नगर्ने नैतिक बन्धन र साहस प्रदर्शन गर्नुपर्थ्यो तर भट्टराई त्यसमा चुके । फलत आज पनि पराजितहरु नैतिक बन्धन तोडेर सांसद, मन्त्री र प्रधानमन्त्री बनेर सत्ता सयर गर्ने धृष्टता गरिरहेछन । पार्टी भित्र अन्तर्घात गर्ने प्रचलन उनको लागि शुरु भयो । जसको नेतृत्व गिरिजाप्रसादले गरे ।

आज अन्तरघात पार्टीको संस्कृति भएको छ । हरेक पार्टी यो पीडाले ग्रसित र प्रताडित छन । जनमतको उपहास शुरु भयो । माधव नेपाल दुई दुई ठाउँ चुनाव हारेर पनि संसद छिरेर प्रधानमन्त्री बन्न सफल बने । भट्टराई चुनाव हारेर पनि राजनीतिक हाईट कम हुने पात्र थिएनन उनको कार्यकाल सफल नै मानिन्छ । व्यवस्था परिवर्तन पछिको जटिल र विषम समयमा भट्टराईको कूटनीतिक कुशलता र ब्यबस्थापकीय क्षमतालाई थुप्रै खोट गर्ने स्थान छैन । आफू हारेर पनि आफ्नो जिम्माको काम समयमा गरेर भट्टराईले ऐतिहासिक दायित्व पुरा गरेका हुन । तर भट्टराई पहिलोपटक उपचुनाव उठ्नु भुल थियो भने त्यसपछि पुनः प्रतिस्पर्धा गरेर अशक्त हुँदाहुँदै पनि सत्तामा जाने लालसा र सत्तामा गएपछि पनि केही गर्न नसकेर आफ्नै सभापतिद्वारा गलहत्याइनु राजनीतिका गलत नियत भित्रको नियति बन्यो ।

जनताले पाँच वर्षको लागि गरेको अस्वीकृतिलाई च्यालेन्ज गरेर सापेक्षित नैतिक भनेका नारायणकाजी श्रेष्ठले पनि अनैतिक भएर राष्ट्रिय सभामा आफूलाई लागि छाडे । बामदेव संबवधान परिवर्तन गरेर भएपनि प्रधानमन्त्री आफूलाई बनाउन दृढ छन नैतिकताको बार देख्दैनन । गलत नजिर बस्दै गएपछि नतिजा यस्तै यस्तै बिबिध स्वरुपमा प्रकट हुन्छन । तसर्थ बाटो देखाउनेले कुबाटो हिड्नु हुँदैन । कुबाटो हिंडेपछि पुग्ने गन्तव्य पनि सोही बमोजिम हुनेछ । थिति असल बसालियो भने त्यसको अनुसरण सबैले गर्ने बिधि र नैतिक बन्धन बन्छ । नैतिकताको किलो उखेलेर हिड्ने आजको स्थिति हिजोको निरन्तरता हो । नेताहरुको दुर दृष्टिको अभावले निम्तिएको सिर्जना हो ।

असल थिति प्रचलन र बिधि भट्टराईले नबसालेका होइन आर्थिक पारदर्शिता, मितव्ययिता, सहनसलिता र राष्ट्रिय सम्पतिको अपचलन नगर्ने स्वाभाव कृष्णप्रसाद भट्टराईका अनुकरणीय पक्ष हुन् । तर भट्टराईका सिमित अबगुण चै नेताहरुले ग्रहण गरे गुण र आदर्श चै त्यागे अबलम्बन गरेनन । गिरिजाप्रसाद कोइराला गणतन्त्रका नायक बने तर आदर्श नायक बन्न सकेनन । नेपाली राजनीतिमा धेरै अबगाल बोक्ने पात्र मध्य एक हुन गिरिजा प्रसाद । आफ्नो पूर्ण बहुमतको सरकार असफल बनाएर मध्यावधि रोज्ने गिरिजा कोइराला प्रायः सबै राजनीतिका अनिष्ठका बाहक र कर्ता बने । राजनीतिक क्रियाशीलता र अडानमा दृढ कोइराला आफ्नो ‘टावर पर्सनालिटी’ कै कारण बाचुन्जेल राजनीति आफ्नो वरपर घुमाउन सफल बने पनि असल व्यवस्थापक र गुणग्राही राजनीतिज्ञ बन्न सकेनन ।

सत्तामा धेरै पटक पुग्नु र धेरै समय राजनीतिको मियो हुनु नै सबैकुरा होइन । शान्ति प्रक्रिया टुंग्याउन उनको भूमिका उल्लेख गर्न लायक भए पनि समग्रमा गिरिजाप्रसादको कार्यकाल पनि सफल बन्न सकेन । मुलुकलाई थितिमा हिडाउन मौका थियो र यिनको व्यक्तित्वलाई चुनौती दिने अवस्था पनि थिएन तर सकेनन । प्रजातान्त्रिक व्यबस्थाको लागि अतुलनीय योगदान भएपनि परिवर्तनलाई व्यवस्थित गर्न यिनी पनि नराम्रोसंग चुके ।

२०५१ सालको नेकपा एमालेको नौ महिने अल्पमतको शासन काल अपेक्षाकृत सफल देखुनुमा तत्कालिन नेकपा एमालेको पार्टी पद्दति र विधिमा स्खलन नआइ सकेर अर्थात पार्टी प्रणाली बलियो भएर हो । त्यतिबेला पार्टीमा बिधान, मर्यादा र केही गरेर देखाउने महत्वाकांक्षी स्वभाव थियो । बलियो फलामे अनुशासन थियो । कम्युनिस्ट चरित्र र पात्र उदाहरण योग्य थिए । समाजको नजर कम्युनिष्ट अनुशासित मेहनती र मर्यादित हुन्छन भन्ने थियो । नीति ध्वस्त थिएन । मनमोहनको सालिन र क्लिन व्यक्तित्वको अगुवाई थियो नै किन्तु मनमोहन अब्बल नेतृत्व क्षमता भएका नेता होइनन् भन्ने कुरा महाकाली सन्धिको भोटिंग बहिस्कार गर्नुले देखाउँछ ।

नेता कि यता हुन्छ कि उता पेंडुलम बस्ने नेताको स्वभावको हुदैन । तर मनमोहन भोटिंग बहिस्कार गरे अनुपस्थित भए । तर आचरण र अरु व्यवहार सरल र मितव्ययी मनमोहनको व्यक्तित्वले सामाजिक र राजनीतिक छवि बेदाग थियो । जसको कारण छोटो समय योङ्ग कम्युनिस्ट लिडरको जमातले ९ महिने सरकार लोकप्रिय थियो । झन प्रतिपक्षीको असमयको अविश्वास प्रस्ताव र मनमोहनको अस्पतालको सैयाबाटै प्रधानमन्त्री पदच्युतले सरकारप्रति सहानुभूति अरु थपियो र ख्याती आज पर्यन्त छ । ‘आफ्नो गाउँ आफै बनाउ’ भनेर गाबिसमा नै बजेट बिनियोजन देखि वृद्दभत्ता वितरण जस्ता लोकप्रिय कार्यक्रमको ब्याज आज पनि नेकपालाई मिलेको पेन्सन जस्तै भएको छ । तर नेकपा दिशाहीन छ अकर्मन्य छ ।

केपी ओलीको प्रथम कार्यकाल राष्ट्रियता र स्वाभिमानको अडानमा अब्बल देखिए पनि अरु बिधि र थिति बसाल्ने क्रममा आज पर्यन्त चुकेका छन । बलियो सत्ता हाँक्ने त् तमाम फोहोर फालेर राज्य ब्यबस्थित गर्ने अभिभारा थियो तर उनको ल्याकत यस्तो देखिएन । बरु अलमलिएका छन । आन्तरिक झगडाले थिलथिलो छ नेकपा । फुट्नु पर्ने स्थितिमा छ तर फुटेर मुख देखाउने र लुकाउने ठाउँ छैन । जताततै बिधि पद्दति र प्रक्रिया मिचेकोले सुधार गरेर राम्रो देखिन्छु भन्ने स्थिति र जनविश्वास छैन । पद्दति भात्काउँदा बिधि मिच्दा नियम नाघ्दा समस्या नै समस्याको भुमरीमा छ ।

ओली सच्चिन चाहदैनन् र सच्चिएर रिजल्ट आउने हद पनि बाँकी छैन । समस्याको चांग छ तर सामाधानको शुत्रमा स्वार्थ हावी छ । थिति मिचेर दुइ पार्टी एकता भयो, चुनाव जित्न जे पनि भनियो, घोषणापत्र सुनकै अक्षरले लेखियो । तर सत्तामा गएपछि कार्यान्वयन गर्न सकिएन । सक्ने जति पनि गरिएन किनकी प्रणाली ध्वस्त पारेपछि बिधि र बिधान आफ्नो मर्जी र खल्तीको निस्केपछि त्यो न्यायपूर्ण हुन सक्तैन । असमावेसी चरित्र र प्रवृति भएपछि आदर्शहरु मृत बन्छन मृत आदर्शमा जीवन हुन्न । लय हुन्न । गति भेटिन्न । प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यकाल पनि थिति बसाल्न महत्वपूर्ण कोसे ढुङ्गो बन्थ्यो तर आफै बेथिति बोकेर आएकाहरुको सत्तामा थिति बसाल्ने गुण र स्वभाव कसरी बनोस ?

बरु माओवादी ठूलो पार्टी बनेको बेला चारजना कम्युनिस्ट प्रधानमन्त्री बने तर संविधान सभाबाट संविधान जारी गर्न सकेनन बरु प्रधानन्यायाधीशलाई राज्य संचालनको जिम्मा दिएर राजनीतिक पार्टी र आफुलाई निकम्मा घोषित गरेर चुनावमा गए । नेपाली राजनीति बहुदलीय व्यवस्थामा निर्दलीय प्रधानमन्त्री त्यो पनि प्रधानन्यायाधीश खिलराज रेग्मीलाई शक्ति हस्तान्तरण गरेर शक्ति सन्तुलन बिगारे जसको परिणाम अरु थुप्रै वर्ष सम्म देखिन्छ ।

कार्यपालिका–न्यायपालिकाको पोल्टामा दिएपछि त्यसको असर र विकृति देखिदै जानेछ । यो पार्टीहरु र विशेषत तत्कालिन माओवादीको गम्भीर सैद्दान्तिक र राजनीतिक भुल थियो । जसको सजाय उनीहरु पाउदैछन । कुनै पनि राजनीतिक भूलको सजाय तत्काल नदेखिन सक्छ तर कालान्तरमा त्यो क्रमशः देखिदै देखिदै जानेछ ।

राजनीति सिद्दान्त च्युत बनेपछि जनताले यति दुःख पाउँछन जसबारे भनि साध्य छैन । कोरोना कहर बाढी पहिरो प्राकृतिक बिपत्ति देखि दैवी बिपत्ति सम्म संबेदनशील बन्न नसकेर राजनीति बिना कोर्ष चलेको छ सत्ता सरम नभएको भएको छ । यो सब बेथितिको कारण अर्थात् थिति मिच्दै हिंडेको कारण भएको घटना र आइपरेको विपद हो । यस्तो संगीन घडीमा पनि सत्ता लुछाचुडीमा लाग्नेले देश बनाउछन जनताको माया गर्छन भनेर अब कसले पत्याउला ? हाम्रा देशका नेताहरु व्यवस्था परिवर्तन गर्न आन्दोलन सिर्जना गर्न खप्पिस र अब्बल देखिए तर परिवर्तित व्यवस्था कुशलतापूर्वक ड्राइभ गर्ने खुबीमा पारंगत हुन सकेनन ।

प्रतिक्रिया दिनुहोस्