५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


बाँदरलाई ढुंगा हानेको विषयमा विवाद, भतिजाद्वारा दुई काकामाथि खुकुरी प्रहार, एकजनाको मृत्यु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार २९ । कास्कीमा बाँदरलाई ढुंगा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

मादि गाउँपालिका–४, घामनुङका ५५ वर्षीय नवराज सापकोटाले आफ्नै ८० वर्षीय काका पिताम्बर र ७७ वर्षीय काका केशवराज सापकोटालाई खुकुरी प्रहार गरेका थिए ।

आइतबार खुकुरी प्रहारबाट घाइते पिताम्बरको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याउँदै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ ।

खुकुरी प्रहारबाटै घाइते भएका केशवराजको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

‘घाइतेलाई अस्पताल पुर्‍याउँदा डाक्टरले पिताम्बरको मृत्यु भएको घोषणा गर्नुभयो । केशवराजलाई पनि मरणासन्न हुनेगरी प्रहार गरिएको रहेछ । उनको मणिपालमा उपचार भइरहेको छ’–प्रवक्ता हमालले भन्नुभयो ।

घटनालगत्तै फरार आरोपी नवराजलाई प्रहरीले सोमबार बिहान पोखरा महानगरपालिका–१३, कसेरीबाट पक्राउ गरेको छ । मास्टर डिग्री गरेका उनी पूर्वशिक्षकसमेत हुन् । उनले गाउँमा कृषिकर्म गर्दै आएका थिए ।

रिसको आवेगमा काकाहरुमाथि खुकुरी प्रहार गरेको उनले बताएको प्रहरीले जनाएको छ ।

नवराजविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।