
काठमाडौं, असार २९ । सर्वोच्च अदालतले माइतीघरमन्डलालगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ ।
न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले शुक्रबार माइतीघरमन्डलालगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृह मन्त्रालयको निर्णय झिकाउने आदेश जारी गरेको हो ।
सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिट निवेदनमाथिको सुनुवाइपछि यही असार २२ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी आजका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
दुवै पक्षको छलफलपछि अदाललते शुक्रबार सरकारले गरेको निर्णय झिकाउने आदेश जारी गरेको हो ।
सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको सुरक्षालाई ध्यानमा राखेर शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवासलगायत काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेको थियो ।
सो स्थानको विकल्पमा सरकारले विरोध प्रदर्शनका लागि खुलामञ्च, तीनकुने खुलाचौर, कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानोगौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषदअगाडिको खुलाचौर र गौशालास्थित सिफलचौरलाई तोकेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्