आन्तरिक पार्टी विग्रहको शिकार संसद • Image Khabar Image Khabar


आन्तरिक पार्टी विग्रहको शिकार संसद


Imagekhabar
२० असार २०७७, शनिबार ०९:००

आन्तरिक पार्टी विग्रहको शिकार संसद

-संजिव कार्की

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । नेपाललाई जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका एकसय पैंसठ्ठी जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका एक सय दश जना गरी कूल दुई सय पचहत्तर सदस्य रहेको प्रतिनिधि सभा रहेको छ ।

संसद आफैमा अधिकार सम्पन्न निकाय र नीति निर्माणको उदगम थलो हो । बैशाख २६, २०७७ मा कोरोना कहर बिचमा शुरु भएको संसद २०७७ असार १८ मा हठात अन्त्यको घोषणा प्रधानमन्त्रीको एकल पहलमा राष्ट्रपतिबाट भएको छ । प्रतिनिधि सभाको शुरु र अन्त्य सभामुखसँगको सल्लाह परामर्श र छलफलबाट गर्नुपर्ने संस्कार र चलन छ यो किन पनि आवश्यक छ भने सदनको प्रमुख पद सभामुख हो । अझ सभामुखसँग मात्रै होइन संसदको प्रमुख प्रतिपक्ष लगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सल्लाह छलफल र निचोडको आधारमा अन्त्य, स्थगन गर्ने परिपाटी थियो ।

संसदले आफ्नो बिजनेस नहुँदा संसद स्थगन अनौठो होइन तर आन्तरिक कलह र संसय, अविश्वास प्रस्तावको डरले प्रधानमन्त्री भागेर संसद अन्त्यको घोषणा अलोकतान्त्रिक हर्कत हो । अवमुल्यन संसद, सभामुख र प्रतिनिधि सभाका सदस्य र पार्टीहरुको हो ।

संसद छल्ने अनि सबैको अपमान गरेर जाने परिपाटीलाई राष्ट्रपतिले ल्याप्चे लगाईदिने निर्णय दुखद छ । कहिलेकाँही राष्ट्रपतिले अभिभावक बनेर सम्झाउने, थर्काउने, विवादित विषयलाई छलफल गराउने कार्य गर्न सक्नुपर्छ । यतिबेला राष्ट्रपतिमा कस्तो व्यक्ति र छविको आवश्यक्ता हुन्छ भन्ने प्रश्न खडा भएको छ । संबैधानिक रुपमा राष्ट्रपतिले गल्ती गर्दैन तर राष्ट्रपतिबाट गल्ती देखिनुले उपयुक्त स्थानमा उपर्युक्त व्यक्तित्वको चयनको अभावमा राष्ट्रलाई घाटा पुग्छ र राष्ट्रले क्षति ब्योहोर्न पुग्छ भन्ने प्रमाणित भएको छ । त्रुटी बारम्बार दोहोरिनुले मानवीय कमजोरी मान्दैन त्यसलाई असक्षमताको सबाल उठाउँछ । व्यक्तिगत स्वार्थको लागि, पार्टीगत टकरावको लागि संसद बन्धक हुँदैआएको हो ।

संबिधान लिखित किताब मात्र हैन एउटा संस्कृति पनि हो । विपक्षी पार्टीहरु र सभामुखको सल्लाह छलफल र परामर्श बिना अन्त्य गर्नु हुँदैन भन्ने हेक्का नराखेर मुढाग्रह पाल्नु दुर्घटनामा पार्टी र मुलुकलाई लैजानु हो । सत्ताको झगडा, स्वार्थ रछिनाझपटीमा संसद पटक पटक बन्धक हुनु दुर्भाग्यपूर्ण छ । राष्ट्रिय सभाका अध्यक्ष र सभामुखसंग सल्लाह नगर्नु प्रधानमन्त्रीको मनपरीतन्त्र र एकलौटी सरकारको लाचार छायाँ बनाउने गलत संस्कृति हो । प्रचण्डसँग संसद अधिवेशन स्थगित नगर्ने वाचा गरेर संसद स्थगन गरेर धोखाधडीको खेल खेल्नु पार्टी पद्दति र नियमको नैतिकताको खिलाफ हो ।

प्रधानमन्त्रीले भय वेच्न खप्पिस भारतको भय देखाएर सहानुभूतिको राजनीति र भावनात्मक राजनीतिमा खेलिरहेछन । आफ्नो अकर्मन्यतामा भय बेचेर टिक्नु खोज्नु मुर्खता हो । संसद कुनै पार्टीको मात्रै र सरकारको मात्रै होइन, संसद संसदमा प्रतिनिधित्व गर्ने सबै दलको र नेपाली जनताको प्रतिनिधिमुलक थलो हो । कुनै पार्टी व्यक्ति र गूटको परेड खेल्ने स्थल होइन । संसद स्वतन्त्र थलो र सार्बभौम बन्न नसक्नु र बन्न नदिनु राजनीतिमा सुखद संकेत मान्न सकिन्न । संसद प्रतिपक्षको र सत्ता सरकारको मानिने संसदीय अभ्यास रहिआएको छ । नेपालको संघीय संसद, संघीय गणतन्त्र नेपालको सर्वोच्च व्यवस्थापकीय निकाय हो ।

नेपालको संसदमा राष्ट्रपति तथा दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संबैधानिक प्रबन्ध छ । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आव्हान गर्नसक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भंग गर्ने शक्ति हुन्छ । तर यसको अर्थ यो होइन कि जथाभावी र लहड सनक र उक्सावटमा राष्ट्रपतिलाई जे पनि गर्ने छुट छ । प्रधानमन्त्रीलाई चलन र चल्तीको प्रचलन मिचेर आफ्नो मार्जिमा देश चलाउने छुट पनि छैन । पार्टी पद्धतीसंग फेस नगरेर संसदसंग डराएर पुग्ने कहाँ, भाग्ने कतिन्जेल ?

हाम्रो सदन विश्वमा लोकतान्त्रिक अभ्यासको सबैभन्दा उन्नत धरातलमा उभिएर गठन भएको हुनाले यसका क्रियाकलाप र गतिविधिहरु अलि विशिष्ट प्रकृतिका बनुन र त्यो गराउनका निम्ति यस सदनको नाताले सभामुखको महत्वपूर्ण भूमिका र अभिभारा रहन्छ तर यहाँ प्रधानमन्त्रीले सभामुखलाई कुनै भाउ दिनु भएको छैन । सभामुखको अवमुल्यन गरेर संसद बिगठन गरेको मिडियाबाट थाहा पाउने बिडम्बना शुरु भएको छ । राष्ट्रपति प्रधानमन्त्री र ओली गुटको नेतामा मात्रै सिमित हुनुभएको देखिन्छ जब कि राष्ट्रपति देशको अभिभावक हो ।

विषम परिस्थितमा राष्ट्रपतिले विवेक र अभिभावकत्व ग्रहण गर्न पनि बिबादित बिषय र प्रसंग अनि हठात अध्यादेश जस्ता कुरामा राष्ट्रपतिले ध्यान दिनु जरुरि हुन्थ्यो तर यो गरेको देखिएन । पार्टी फुटाउने जस्तो अध्यादेशलाई आफ्नो स्वार्थको लागि सरकारले प्रस्तुत गर्दा आँखा चिम्लेर सहि गर्दा राष्ट्रपति बिबादमा पर्नु भएको थियो । अहिले पनि सरकारको जस अपजस भन्दै संसद स्थगित गर्ने राष्ट्रपतिको हतारो ओलीप्रतिको बफादारीको रुपमा बुझ्न सकिन्छ । किनकि सामान्यतया संसद बिगठन भएको पत्र संसदमा पढिन्छ र स्थगन गरेको मितिको रातको १२ बजे देखि अन्त्य भएको घोषणा गरिन्छ । तर यहाँ साँझको पांच बजे नै स्थगन गरेको घोषणामा अन्तर्निहित स्वार्थ र बाध्यता देखिन्छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भन्नुहुन्छ ‘लोकतन्त्र भनेको विपरितहरुको, विपरित विचारहरुको संघर्ष र एकत्वको अभिव्यक्ति हो । उदारवादी लोकतन्त्रले पनि विविधतामा एकतालाई मान्दछ । बहुलवादलाई सिद्धान्त र आदर्श मान्दछ । र, समाजवादी लोकतन्त्र माक्र्सवादी दर्शनले त समाजलाई नै, विश्वलाई नै एकत्व भनेर मान्दछ । त्यसैले लोकतन्त्र भनेको पनि विपरितहरुको एकत्व हो ।’ तर प्रधानमन्त्री ओलीले विपक्षी मात्र हैन सत्ता पक्ष आफनै पार्टीसँग पनि लोकतन्त्रको मर्म र एकत्वलाई आत्मसाथ गर्न सक्नु भएको छैन । बरु संसदलाई आफ्नो अनुकुल खेलाउने रोक्ने र स्थगन गरेर पार्टी व्यवस्थापन र आन्तरिक कलहको बन्दी बनाउनु भएको छ ।

पूर्व सभामुख कृष्ण बहादुर यौनकाण्डमा परेर राजिनामा दिए पछि रिक्त सभामुख छान्न पनि नेकपालाई सकस र कस्ट भएकोले उसले पटक पटक संसद स्थगित गरेर सभामुख चयन गर्ने प्रक्रिया लिंगरिंग गरेर संसदको हुर्मत लियो । तसर्थ नेकपाको हकमा नैतिकताको कुरा सबैको लागि आउछ ? पार्टीले संबैधानिक प्रक्रिया अव्रुद्द गर्न संसदलाई किन बेलाबेलामा बन्धक बनायो ? आज त्यसैको द्युस्प्राय प्रधानमन्त्री मनपरीतन्त्रमा ओर्लिएर आफ्नो लाचार छाँया बनाउँदै छन संसदलाई ।

आन्तरिक पार्टी विग्रह र कलहको शिकार संसदलाई बनाइनु कुनै पनि मानेमा उचित मान्न सकिन्न । संसद छलेर अध्यादेश मार्फत पार्टी फुटाउने भय प्रचन्डलाई रहनु र संसदमा अविश्वासको प्रस्ताव दर्ता हुने भय ओलीले देख्नुले संसद पार्टी बिभाजन र विग्रहको नमिठो शिकार बन्यो । देश बिकराल र भयावह कोरोना संकट र चौतर्फी अब्यवस्थामा गिजोलिएको बेला नेकपाको संवेदनहीन झगडाले मुल्य चुकाउने कुरामा नेताहरु किन आँखा चिम्लेर दौडेका छन बुझिनसक्नु छ । समयको खेलो फड्कोमा सजाय र पुरस्कार पक्कै मिल्छ होला ।

प्रतिक्रिया दिनुहोस्