१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


डा. केसीको अनशन तोड्न सरकारले बल प्रयोग गर्न सक्छ : मन्त्री पोखरेल


0
Shares

काठमाडौं, असार २९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशन तोड्न सरकारले बल प्रयोग पनि गर्न सक्ने चेतावनी दिएका छन् ।

शिक्षा विभाग र पत्रकार महासंघले आज काठमाडौंमा गरेको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पोखरेलले डा. केसीको अनशन तोड्न सरकारले बल प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् । उनले अनशनकै क्रममा डा. केसीको स्वास्थ्य तलमाथि भए सरकार जिम्मेवार नहुने पनि बताए ।

मन्त्री पोखरेलले केसीको माग जायज भए पनि माग पुरा गराउने शैली भने ठिक नभएको टिप्पणी गरे । केसीको अनशनका कारण सम्पूर्ण स्वास्थ्य क्षेत्र प्रभावित भएको भन्दै उनले शान्तिपूर्ण वार्ता, विधि र प्रकृयामार्फत समाधान खोज्न आग्रह गरे ।

केसीले जतिसक्दो छिटो आफुलाई सच्याउनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार बुटवल टुडेका सम्पादक कृष्ण मल्ललाई प्रदान गरिएको छ । यसैगरी संस्थागत शिक्षा पत्रकारिता पुरस्कारबाट टेलिभिजनतर्फ इमेज च्यानललाई, पत्रिकातर्फ नागरिक दैनिक र अनलाइनतर्फ अनलाइन एजुकेशन न्यूज नेपाल डट कमलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रुपैयाँ छ ।