मुलुकको चित्रमा टुपी बदलियो तर टुपी हुने शासकको चरित्र बदलिएन • Image Khabar Image Khabar


मुलुकको चित्रमा टुपी बदलियो तर टुपी हुने शासकको चरित्र बदलिएन


Imagekhabar
११ असार २०७७, बिहीबार ०८:४३

मुलुकको चित्रमा टुपी बदलियो तर टुपी हुने शासकको चरित्र बदलिएन

-संजिव कार्की

चीनको बुहानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि आफ्ना नागरिकको उद्दार र क्वारेन्टिनमा सफल ब्यवस्थापन गरेर वाहा ! वाहा !! गरेर स्याबासी र प्रशंसा पाएको सरकार जति जति कोरोना संक्रमणको चपेटामा देश पर्दै छ उति उति आलोचना र गालीगलौजको हकदार बन्दैछ । फ्रस्ट इम्प्रेसन राम्रो दिएको सरकार आज लकडाउन तीन महिना गरेर आजसम्म आइपुग्दा खराब पर्फमेन्ससहित आलोचित छ । नेपालको संविधान शंसोधन गरेर ऐतिहासिक नक्सा सच्याउने काम काममा बाहेक सरकारको प्रशंसा गर्ने ठाउँ पाइएन भनेर बाम वृतिमै चर्चा मात्रै छैन व्यापक आलोचना छ । पानी पर्दा मैंले पारेको भन्नेहरु खडेरी पर्दाको अपजस आफ्नो भागमा राख्न रुचाउदैनन् । हाम्रो मूल समस्याको जड र प्रवृति नै यही हो ।

सफलता मिलिहाले त्यो मेरो कारण र मौसमको अनुकुलतालाई समेत आफ्नो ल्याकतले सम्भव भएको गफ दिनेहरु असफलता हात लागेमा अरुकै टाउकोमा त्यो अपगाल थोपरेर उम्कन खोज्छन यसर्थ कर्तव्य र जिम्मेवारीबाट भाग्दै छलिदै राज्य चलाउनेहरुको कारण हामी जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकिराखेका छैनौं । अनर्थ र अपवादको उदाहरण दिएर आफूलाई चोख्याउने उपाय रोजिन्छ । जस्तो अमेरिकामा भएको घटना हाम्रा कमजोरी छोप्ने टालो बनेको एक दृष्टान्त हेरौं । अश्वेत मुलका अमेरिकी नागरिक जर्ज फ्ल्योयडलाई श्वेत मुलका अमेरिकन सुरक्षा अधिकारीले निर्ममतापूर्वक गरेको हत्यासँग जोडेर रुकुममा नवराज विक लगायत छ जना युवाहरुकोको जघन्य हत्यालाई सामान्यीकरण गरिन्छ ।

रंगभेद अमेरिकामा समेत छ भने हामीकोमा पनि छुवाछुत र जातीय विभेद हुनु अनौठो होइन भनेर राज्यको सामाजिक दायित्व र कर्तव्यलाई बिर्सेर कमजोरी ढाकछोप गर्ने प्रयास गृहमन्त्रीको तर्फबाट आउँछ । तर अमेरिकनहरुको सिमित कमजोरीको उदाहरण दिंदा त्यहाँको उन्नत राजनीतिक , प्रशासनिक अनि कानुनी राज (अपवाद डोनाल्ड ट्रम्प) को नमुना बिर्सन पुग्छन । कोरोना कष्टका बारेमा पनि त्यस्तै ओठे जवाफ फर्काएर देशको शासन सत्तामा हालीमुहाली गर्नेहरुको कुरूप चरित्र उदांगो भैरहेको छ । राज्यको आवश्यकताको सिद्दान्तमा देश हिड्नु पर्नेमा प्रधानमन्त्री, मन्त्री र नेताहरुको व्यक्तिगत आवश्यकता र निजि स्वार्थको लागि देशको नियम कानुनको अपब्याख्या र अपचलन गरिंदैछ ।

अमेरिका स्पेन, जापान, इटाली जर्मनी, फ्रान्सले गर्न नसकेको कोरोना नियन्त्रण अभियान हामी कसरी सक्छौ ? अरुका सिमा, कमजोरी, अनुभव र मोडेल हेरेर हाम्रो आफ्नै बस्तुपरक मोडल तयार गरेर संसारलाई उदाहरण दिने अवसर देखाउनु पर्नेमा अरुले त नसकेको हामी सक्छौं त भनेर सरकार आत्मबल गुमाएर प्रकट हुन्छ । शुरु शुरुमा संक्रमण नदेखिदा आफ्नो कार्यक्षमताको कारण भएको देख्ने सरकार आज संक्रमण भयंकर भएर फैलंदा संसारभर यस्तै छ भनेर लाज ढाक्छ ।

खरिपाटीमा सुव्यवस्थस्थित क्वारेन्टाइन बनाएर पहिलोपटक माघ ९ मा संक्रमित एक जनाको सफल उपचार गरेर घर पठाएको सरकार दोश्रो पटक फ्रान्सबाट आएकी १९ वर्षीय युवतीलाई चैत्र १० मा संक्रमित पाउदा चैत्र ११ देखि लकडाउन गरेर लकडाउन नै कोरोनको औषधि हो भन्ने बुझाई र भ्रममा रह्यो ।

अकस्मात लकडाउन त भयो तर शहरी क्षेत्रमा काम गरेर जीवनयापन गर्ने श्रमिक मजदूर र आम सर्वसाधारणलाई खाना बस्नको अभाव भयो । घर भाडा तिर्ने स्थिति बनेन, तव जनताहरु मरेपनि गाउँमा नै मर्ने भन्दै पूर्व मेचीदेखि पश्चिम कालीसम्म पैदल हिडेर घर जान निस्किए ।

आफ्नै माटोको माया र आफ्नै आँगनको माया कस्तो हुन्छ यहाँ प्रकट भयो । मरे गाउँमै मर्ने ,बाँचे उतै पोलिए, पुरिए पनि आफ्नै जन्मस्थान भनेर जनता रुवावासी गर्दै भोकै नांगै निस्किए । भारतबाट आउने क्रममा सीमा बन्द भएपछि कति नेपाली रातको समयमा महाकालीको भेलमा हेलिएर पनि रातारात नेपाल आए । तर सरकारले न लक डाउन कडा गरेर गासबास कपासको बन्दोबस्त गर्न सक्यो न गाउँ जाने र भारतबाट घर आउनेलाई ल्याउन सक्यो बरु तीव्र आलोचना र निन्दाको भागीदार बन्यो । गाउँलेहरु आफैं घर फर्के भने केही स्थानीय निकायको सहयोगमा घर पुगे । सरकार पत्रकारले रमिता देखाएको भनेर तिनको दुःख र गरिबीप्रति उपहास गरेर हिड्यो । प्रारम्भमै ओम्नी नामक कम्पनीको लागि सतिजान तयार भयो । दोश्रो गाँस नै नराम्रोसँग ढुंगा चपाउन बाध्य मात्रै भएन दुर्गन्धित भएर निस्क्यो । कमिसनको चक्करमा औषधि संबन्धि काम नै नगरेको कम्पनी चाइनाबाट कोरोनासँग सम्बन्धित किट र औषधिजन्य सामग्री खरिद गरेर अनि कमसल सामग्री ल्याएर सरकार बदनाम बन्यो ।

यद्यपी, सबै कुरा बिग्रीसकेको थिएन तर सरकारको प्राथमिकता कोरोना रहेन देश लकडाउन गरेर सरकार अमुक पार्टी फुटाउने, अध्यादेश जारी गर्ने, संसद अपहरण जस्तो काम गरेर आफ्नै पार्टी अन्तरसंघर्ष अनि टुटफुट र विभाजनको संघारतिर सरकार बरालियो । मानौं कोरोनाको भय र आतंकले नेपाललाई छोएको छैन कथं छोएमा पनि फुमन्तर गरेर भगाउने नेपालको समार्थ्य छ । सरकार असंवेदनशील र अनैतिक भएर आफ्नो मूल जिम्वेवारीबाट चुक्यो । फलस्वरुप देश अस्तव्यस्त बन्ने क्रमले तीव्रता पाएको छ ।

भैंसी बस्न नसुहाउने ठाउँहरु क्वारेन्टिन बनेका छन् । आइसोलेसनको अवस्था गए गुज्रेको छ । अस्पतालमा भेन्टिलेटर र औषधिको अभाव हुँदैछ । देशमा चरम निराशा र असन्तोष मुखरित भएको छ । कोरोना भन्दा अरु रोग, भोक, शोक र भय, अन्य दीर्घ रोगको उपचारको अभाव अनि मातृमृत्यु र शिशु मृत्यु गर्भवती र बृद्धबृद्धा मृत्युले सताएको छ । लकडाउनको कारण आर्थिक, सामाजिक, मनोवैज्ञानिक कारणले मान्छेहरु डिप्रेसनमा गएर आत्महत्या चैत्रदेखि १४०० भन्दा बढीले गरेको डरलाग्दो रिपोर्टहरु आएका छन् ।

जुनसुकै मृत्यु पनि अनाहक र असमयमा हुनुको कारण कोरोना हो भनेर बुझ्न सरकारले सकिरहेको छैन बरु आफ्नो तदारुकता र सरकारी चुस्तताले कोरोनाबाट मानवीय क्षति कम भएको कुतर्क पेश गरेर अझै जग हँसाइरहेको छ । उत्पात गफ दिने सरकार, कतै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने निर्वल प्रतिपक्ष अनि जति गरे पनि असन्तोष नै मात्र जनाउने जनता भएको कारण देशको स्पष्ट मार्गचित्र छैन । जे होला देखा जायागको भरमा हामी कोरोंनासँग लड्दै, भिड्दै छौं ।

देशलाई कोरोना सङ्क्रमणकालीन अवस्थाबाट बचाउन राज्यले खर्च कटौती र अनावश्यक खर्चमा रोक लगाउने नीति तय गरेको छ तर ब्यवहार बिल्कुल भिन्न र अपारदर्शी देखिन्छ । यतिबेला नै राष्ट्रपति भवनमा करोडौंको गलैंचादेखि पाइखाना सजावट अनि मन्त्री निवासमा जिमखानामा करोड हाराहारीको टेन्डर अनि करोड करोड पर्ने गाडी खरिदमा परदेश सरकार अनि संसद विकास कोष जस्तो अपारदर्शी कोष कायम राखेर बजेट भाषण जनताको नियति र नेताको नियत भएको छ । सरकारी अस्पताल मात्रै आजसम्म कोरोंनासँग लडन तयार गरिएको छ तर अन्य प्राइभेट अस्पताल र तिनका ल्याब प्रयोगमा ल्याउन ढिला भै सक्यो। एउटा पनि क्वारेन्टिन काठमाडौंमा छैन भन्दा यो भन्दा अर्को लाजमर्दो स्थिति के हुन्छ ?

संसारभर यतिबेला खड्केको मुख्य कुरा हो अस्पताल । मन्दिर, मस्दिज, गुम्बा, चर्च, गिर्जाघर सब बन्द भए तर अस्पताल खुल्ला यसर्थ पनि आगामी पुस्ताले अब पुन्य कर्मको लागि समेत बनाउनु पर्ने, अस्पताल, सहयोग गर्नुपर्ने, दान धर्ममा लाग्नुपर्ने , रिसर्च सेन्टर खोल्न र बनाउन भन्ने पुष्टी भएको छ । जतिपनि धर्मको नाममा लगानी गर्नुपर्छ केवल स्वस्थ्यालय खोल्न मात्रै यो चेत यो पुस्तामा घुसाउन सम्भवत कोरोना कहरले सम्झाएको छ ।

कोरोना कष्ट मात्रै होइन अवसर पनि भएको छ गाउँ गाउँको लागि । दशैँ तिहार र चुनावी चहलपहलमा मात्र भाइब्रेट हुने गाउँ बस्तीहरु यो पटक वसन्त ऋतुदेखि नै भाइब्रेट भएका छन् । थोरै भएपनि गाउँका रुखा–सुख्खा जग्गा जमिन जोतिएका छन् । अब गाउँमै जम्ने र रम्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ । आत्मनिर्भर हुने उत्पादन उद्योग ब्यवसायलाई प्रोत्साहन गरिनु पर्छ । यसो भन्दै गर्दा सरकार मल बिउ बिजनमा कर लगाएर आयातित चकलेटमा कर घटाउने नीति लिएको कुरा गर्नुपर्दा नमिठो दुखिरहेछ ।

अर्थ व्यवस्था आत्मनिर्भर बनाउने ‘गेम चेन्जर’ अवसर बनाउन सरकारको दुरदृष्टि आवश्यक छ । अर्थ संकुचन हुन नदिने सरकारले लिने नीति र बनाउने पोलिसीमा नेपालको भाग्य र भविष्य अन्तर्निहित छ । अब वैदेशिक रोजगारी गुमाएर फर्कने लाखौं युवालाई स्वरोजगार प्रवद्र्धन गर्न सकिएन भने नागरिकको धैर्य गुम्दा सरकारले गुमाउनु पर्ने थुप्रै चिज छन् । केही संकेतको रुपमा राजनीतिमा रुची नभएका युवाहरु सडकमा निस्केर देखाई सकेका छन् ।

कोरोना संदेश
संकट, आपत, विपद र महामारीहरु फगत संकट मात्रै पनि हुँदैनन् । संकटमा अवसर र समय चेतको बिम्ब पनि रहेको हुन्छ । कोरोनाले यतिबेला एउटा सन्देश प्रवाह गरेको छ । जहाँ जन्म हुर्क, बढ, पढ र कर्म गर तर आफ्नो माटो सबैलाई प्रिय हुन्छ । संसार यति साँघुरो र लघु भै सक्यो कि एक देशको अप्ठ्यारो, एक महादेशको अप्ठ्यारो त्यो देशको मात्रै रहेन विश्वको रह्यो भयो अत विपत्ती रोग भोक र शोक, भयको जात धर्म सिमा र बार बन्देज छैन ।

धनी, गरिब ,शिक्षित, अशिक्षित सबैको माटो र अस्तित्व केवल एक मुठी सास हो अत भेदभाव र असमानता किन ? धर्तीले असमानता सिकाउँदैन । मान्छेको एकै जात कालो होस् या गोरो ? अग्लो होस् या होचो ? समानता, मानवता, भातृत्व र सहअस्तित्व मै सबैको भलाई छ । कल्याणको मार्ग छ । महामारी विश्व मानव समुदायको साझा शत्रु हो । घमण्डको प्वाँख पलाउने हर कोहीको लागि यो अम्ूल्य पाठ हो । घमण्ड व्यक्तिको होस् या राष्ट्रको सबैको घमण्ड चकनाचुर हुन्छ । बस ढिलो चाँडो मात्रै हो भन्ने बुझाइ अमेरिका जस्ता शक्तिशाली तर कोरोनाग्रस्त राष्ट्रले राख्न सकेमा मानव कल्याण र हित हुनेछ ।

महाशक्ती राष्ट्रहरुले पनि अब यो संकटलाई अवसरको रुपमा सदुपयोग गरेर आणविक बम मिसायल र क्षेप्यास्त्र बनाउने होड त्यागेर आपद विपद महामारीसँग जुध्ने प्रयोगशाला र अन्वेषणतर्फ आफ्नो ध्यान खिच्नेछन । रोग तोप र बमको गोलाले होइन औषधिको गोलीले ठिक हुन्छ । मानवहितको लागि संकट मोचनको लागि अनुसन्धान गर्न सर्वत्र अनुसन्धानशाला निर्माण गर्नेछन । खोज अनुसन्धान गर्ने बैज्ञानिक चिन्तक र विद्द्वानहरुलाई अहोरात्र मानवहितको लागि खटाउने छन् । औषधि विज्ञानको औचित्य र आवश्यकता हरपल र हरघडी आवश्यक पर्ने तत्ववोध गर्नेछन ।

हाम्रो देशमा पनि अनुसन्धान गर्न यथेस्ट बजेट व्यवस्था गर्न सरकारको आँखा उघ्रनेछ । सबै सरोकारवाला निकायको चेतमा घाम लाग्नेछ । हाम्रा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सेवाभावले अहोरात्र खट्नेलाई राज्यले बिमा र सुरक्षा प्रदान गर्न सकोस । हामीलाई ठूलो खतरा भारतीय सीमामा रहेका र भारतमा फैलदै गरेको महामारीको हो । आज जतिपनि संक्रमण फैलिएको छ जति मान्छेको मृत्यु भएको छ त्यो सब भारतीय भूमिबाट नेपाल फर्केका नेपालीको हो । भारत कोरोनाव्याधीको महामारीमा विश्वमा सातौं राष्ट्र बन्दै छ जसको प्रत्यक्ष असर नेपालीको भागसम्म आइपुग्छ । त्यसैले नेपाल सरकारले गर्नुपर्ने जटिल ब्यवस्थापन भारतबाट आएका नागरिकहरुको हो । विशेष त भारतसँग सिमा जोडिएको जिल्लाहरुमा यसको प्रभाव र असर ज्यादा छ ।

आज पर्यन्त अपवाद बाहेक काठमाडौँमा यसले बिकराल रुप लिएको छैन र देशको कुनै पनि सहरी इलाकामा महामारी फैलिएको छैन । रसुवा बाहेक ७६ जिल्ला आजसम्म प्रभावित बनिसकेका छन । आजसम्म कोरोनाले विश्वभर ज्यान लिएका मध्य नेपालबाट २४ जनाको नाम दर्ता भएको छ । विश्वभर मृत्य हुनेको संख्या ४ लाख ७७५८४ छ । यो आलेख तयार गर्दासम्मको विश्वमा कोरोना संक्रमित ९२७३५७० को रेकर्ड छ भने निको भएकोमा ४६६१११८ उल्लेख छ िनेपालमा मृत्यु र संक्रमित १०१०७२८ को डाटा प्राप्त भएको छ भने संक्रमण मुक्त भएर घर गएकामा २३३८ छन् ।

यसबीच नेपाल सरकारले ९ अर्ब ८७ करोड रुपियाँ चीनबाट बिद्यार्थी ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथामका लागि सामाग्री खरिद क्वारेन्टिनमा निर्माणमा खर्च गरेको विवरण सरकारले सार्वजनिक गरेको छ भने कोरोना राहत कोषमा २ अर्ब ३२ करोड रुपैंयाँ जम्मा भएको जानकारी दिएको छ । सरकारले राहत उद्दार र रेस्क्यु नगरेको अर्थात गर्दै नगरेको होइन तर सरकारी अलमल, ढिलासुस्ती, अकर्मन्यता र प्राथमिकीकरण गर्न नसकेको देख्दा सरकारले आफ्नो क्षमता र साधन श्रोतलाई अन्डर इस्टिमेट गरेको भान हुन्छ ।

जिटूजी कोरोना औषधि र किट किन्न खटिएको सेना अत्याधिक मूल्य अन्तरको सामग्री खरिद गरेर आलोचित हुँदै आफ्नो मिसनबाट फिर्ता भएको छ । भ्रष्टाचार, अनियमितता सरकारको स्वभाविक कर्म मान्नुपर्ने भएपछि कसको चित्त दुख्दैन र ? नेकपा नेता कार्यकर्ता सरकारको प्रतिरक्षा गर्न सकिरहेका छैनन् । गरुन पनि कसरी बेथिति न मौलाएको ठाउँ छैन । सफलता हात परेको उदाहरण पाइन्न ।

अहिले पनि क्वारेन्टिनमा जीवनजल खान नपाएर धनुषामा राजु सदाको मृत्यु भएको खबर बाहिरिदा राष्ट्रपति भवनमा उच्च तहका नेता बोलाएर भोज सहितको बैठक आयोजनाको समाचारले मन खिन्न छ । सामान्य चिया नास्ता गरेर बैठक चलाएर भोज बराबरको खर्च त्यस्तै जीवनजल किन्न खर्च गरिदिए कति जाती हुन्थ्यो । राष्ट्रको नक्शामा टुपी थपियो । तर टुपिवाला शासकहरुको मति बदलिएन । चरित्रमा भिन्नता आएन ।

प्रतिक्रिया दिनुहोस्