२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोर्चुगलमा हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत भेटिए


0
Shares

लिस्बन(जिएनएनएन) । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी गराएको छ ।

प्राप्त जानकारी अनुसार सोही दिन राति करिब २२ः३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो ।

प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म सिद्दान्तको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले आज बेलुकी बुधवार मात्रै उनका परिवारलाई जानकारी गराएको थियो । मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ ।

अदालती प्रकृया पुरागरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले जनाएका छन् ।

१७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८ः३० बजे नियमित ब्यायमको लागि निस्केका सिद्धान्त गुरुङको मृत्यको खबर ८ दिन पछि मात्रै परिवारले प्राप्त गरेका हुन् । गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए ।

नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए ।

गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए।

कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए।

पोर्चुगलमा नेपाली समुदायले सिद्धान्त सम्पर्कविहीन भएपछि उनको खोजीमा ब्यापक प्रयास गरेका थिए।

शहरका गल्लीगल्ली र सबै पार्क र मेट्रो स्टेशनमा उनको खोजी गरिनुका साथै मानिस हराएको सूचना समेत टाँस गरेका थिए। पोर्चुगलमा जुन महिनामा मात्रै तीन जना नेपालीले ज्यान गुमाईसकेका छन् ।

सन् २०१० यता पोर्चुगलमा ३७ नेपालीको मृत्यु भइसकेको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु शोकमा डुबेका छन्।