Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


झापामा पहिलोपटक लाहा उद्योग सञ्चालनमा


0
Shares

सुरेन्द्र भण्डारी (इमेज)

झापा, असार ९ । झापामा पहिलोपटक चप्रा अर्थात् लाहा उद्योग सञ्चालनमा आएको छ ।

काठ रङ्ग्याउने, सुनका गहरगहना चम्किलो बनाउन र सिलबन्दी कार्यमा यसको प्रयोग हुने गरेको छ ।

लाहा आगोमा छिट्टै पग्लने र विभिन्न काममा उपयोगी हुने वस्तु हो । कच्चा लाहा एक प्रकारको किराले उत्पादन गर्छ ।

सिरिस, बयर, खयर, मौवा, रहरको दाल, फड्के सिरिसजस्ता वनस्पतिमा लाहा उत्पादन गर्ने किरालाई छाडेपछि कच्चा लाहा उत्पादन हुन्छ ।

झापा गौरादह नगरपालिका–२ का डम्बरबहादुर विक लाहा प्रशोधन गर्दै चप्रा उत्पादन गर्ने कार्यमा जुटेका छन् । २० लाख रुपैयाँको लगानीमा गत वैशाखबाट लाहा प्रशोधन गर्न थालेका हुन् ।

नेपालमा फर्चिनर उद्योगका साथै निर्वाचनका समयमा सिलबन्दीका लागि लाहाको प्रयोग धेरै हुने गरेको छ । भारतबाट महँगो मूल्यमा यसको आयात हुँदै आएको छ ।

पर्याप्त कच्चापदार्थ पाउने हो भने आफ्नो उद्योगले मासिक एक हजार केजीसम्म लाहा उत्पादन गर्नसक्ने विकको भनाइ छ ।

विकले सञ्चालन गरेको चप्रा उद्योग सम्भवतः नेपालकै पहिलो हुनसक्ने डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरको भनाइ छ ।

सात वर्षसम्म भारतको पश्चिम बंगालको एक चप्रा उद्योगमा काम गरेर फर्कनुभएका विकलाई स्वदेशमै लगानी गरेर चप्रा उत्पादन गर्न थालेको देखेपछि डिभिजनल वन कार्यालयले पनि सहयोग गरेको कार्यालय प्रमुख विष्णुलाल घिमिरे बताउनुहुन्छ ।

सुरुमा प्रतिकेजी ३५० रुपैयाँका दरले लाहाको कच्चापदार्थ झिकाएर चप्रा उत्पादन सुरु गरेका विकले अहिले मासिक एक हजार केजीसम्म चप्रा उत्पादन गर्ने गरेका छन् । यस उद्योगमा अहिले पाँचजनाले रोजगारी पनि पाएका छन् ।

भिडियो हेर्नुहोस्

Skip This