चितवन । चितवनमा निरन्तरको वर्षासँगै नारायणी नदीको बहाव बढ्दा विभिन्न क्षेत्रमा तटबन्ध कटान र डुबानको समस्या देखिएको छ। भरतपुर महानगरपालिकाका विभिन्न वडामा तटबन्ध कटान भएपछि सुरक्षाकर्मी, महानगर प्रहरी र स्थानीयवासी परिचालन गरी तत्काल नियन्त्रणका प्रयास भइरहेका छन्।
भरतपुर–२८ स्थित साविक मेघौली वडा नं। १ र २ को सीमाना सिशाबासमा नारायणी तटबन्ध कटान भएको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा बोरामा गिट्टी–बालुवा भरेर कटान रोक्ने काम भइरहेको छ।
भरतपुर–१७ को मझुवा सामुदायिक वन क्षेत्रमा भने १०० मिटरभन्दा बढी तटबन्ध कटान भएको छ। त्यहाँ ग्याबिन, पर्कुपाइन र बोरा प्रयोग गर्नुका साथै ४–५ टिपर बिग बोल्डर हालेर तत्काल थप क्षति हुन नदिने प्रयास गरिएको छ। थप बिग बोल्डर आवश्यक भएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्भावित स्थानहरूको स्थलगत निरीक्षणसमेत गरिएको छ।
त्यस्तै, भरतपुर–१६ स्थित गणेश मन्दिर तलको क्षेत्रमा नारायणीको तटबन्ध कटान हुँदा मर्दी घोलमा पानी प्रवेश गरेको छ।
देवघाट क्षेत्रमा नदी किनारका केही बस्ती डुबानमा परेपछि जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। भरतपुर–१६ को झन्झनेका १० घरधुरीलाई पनि नजिकैको शरणपुर विद्यालयमा सुरक्षित रूपमा सारिएको छ।
अविरल वर्षा जारी रहेकाले नारायणी नदी पुनः बस्तीमा पस्न सक्ने जोखिम भने कायमै रहेको प्रशासनले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्