Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


लगातार वर्षाले देशभर जनजीवन प्रभावित, सप्तरीमा ५०० घर डुबे, बागलुङमा सडक अवरुद्ध


0
Shares

सप्तरी । लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। तराईका जिल्लामा डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण नागरिकले सास्ती खेपिरहेका छन्।

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पसेको छ। बाढीका कारण ५०० भन्दा बढी घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल दुई छाक खानाको व्यवस्था गरेको जनाएको छ। पानीको सतह घटेपछि थप राहत सामग्री वितरण गरिने बताइएको छ।

यस्तै, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग बाढीले बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहुँचमार्ग बगेसँगै बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिकाबीचको गण्डकी प्रदेशमार्ग सम्पर्कविहीन बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ।

पहाडी जिल्ला बागलुङमा पनि लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक ठप्प हुँदा बागलुङ बजारसँग ग्रामीण बस्तीको यातायात सम्पर्क प्रभावित भएको छ।

गलकोट–ताराखोला सडक, गौडाकोट र निरयघाट क्षेत्रमा पहिरो खसेपछि आवतजावत रोकिएको छ। अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय, स्थानीय तह र निर्माण व्यवसायीसँग समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण पहिरो पन्छाउने काममा भने कठिनाइ भइरहेको छ।

Skip This