३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


विद्यालय साहूजीहरुको उर्दीः नपढाएको महिनाको पनि शुल्क बुझाउन ल्याउ


0
Shares

काठमाडौं, असार ७ । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई उर्दी जारी गरेका गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई उर्दी जारी गरेका हुन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ति निकाली भनेका छन्, ‘२०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’

निजी विद्यालयहरुले कोरोना भाइरसको संक्रमण फैलने त्रासमा चैत्र महिनादेखि नै बन्द राखेका छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई भनेको छ भने त्यसपछि पनि अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने प्रष्ट निर्देशन दिइसकेको छ ।

तर कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको तर्क गर्दै विद्यालय साहूजीहरुले शुल्क तिर्न अभिभावकहरूलाई भनेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवनयापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेको उनीहरुले जनाएका छन् ।

सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउन नछाडिने पनि उनीहरुले उल्लेख गरेका छन् ।

विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्न भन्दै प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षाको शुल्क उठाउने जनाएका हुन् । खासै प्रभावकारी नभएको अनलाइन कक्षा वैशाखदेखि नै सञ्चालन गरिएको उनीहरुको भनाइ छ ।