Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक


0
Shares

काठमाडौं, चैत ६ । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ ।

उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सार्वजनिक गरेका हुन ।

सञ्चारमन्त्री राईले संविधान निर्माणपछि सूचनाको विकासलाई अधिकतम प्रयोग गरी आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, “पारदर्शीता, जवाफदेहिता र सुशासनको बारेमा सबैलाई ध्यान आकृष्ट भएको बेला यो अनलाइन र एप्स उपयोगी हुने छ ।

उनले सूचनाको पहुँच आम नागरीकसमक्ष अझै पुग्न नसकेको स्वीकार गर्दे यसको गुणस्तरमा सुधार ल्याउन सञ्चार मन्त्रालय लागिपरेको उल्लेख गरे ।

सञ्चारमन्त्री राईले नेपालको अनलाइन मिडियामा ठूलो विकृति देखा परेको भन्दै मन्त्रालयले यस्ता विकृति रोक्न अनलाइन निर्देशिका बनाउन लागेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोेहनीले महत्वपूर्ण समयमा यो एप्स सार्वजनिक भएको बताए । उनले विपद्को बेला यो एप्सले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालको स्वास्थ्य क्षेत्रको विकासलाई अगाडि लैजान यो एप्सले ठूलो भूमिका खेल्ने धारणा राखे ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भगवान अशोदत्त बज्राचार्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, नेपाल औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठलगायतले आजको नयाँ युगका लागि नयाँ थालनी भएको बताए ।

क्रियशनका महाप्रबन्धक मधुसुदन ढकालले यो एप्सबाट देशभरका सम्पूर्ण अस्पताल, डाक्टरको सूची, स्वास्थ्यसम्बन्धी अस्पतालको सेवा, डाक्टरको समय, फार्मेसीको जानकारी, एम्बुलेन्स, क्लिनिक, रक्तदान र रोगका विवरण थाहा पाउन सकिने जानकारी दिए । । रासस