
काठमाडौं, चैत १० । बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको बम आक्रमणमा संलग्न मुख्य संदिग्ध नाजिम लाचारावी पक्राउ परेका छन् ।
जाभेनटेम विमानस्थलमा आक्रमण हुनुअघिको सीसीटीभी फुटेजमा नाजिम लाचारावी देखिएका थिए । आक्रमणमा तीनजना व्यक्ति संलग्न रहेको आशंका गरिएको छ ।
बेल्जियमका सन्चारमाध्यमहरुले बाँकी दुईजना आक्रमणकारीमा खालिद र ब्राहिम इल–बाक्रावी दाजुभाइ रहेको उल्लेख गरेका छन् । जाभेनटेम विमानस्थलमा रहेको सीसीटीभीमा उनीहरु देखिएका थिए ।
बाक्रावी दाजुभाइ तस्वीरमा कालो पहिरनमा देखिएका थिए । उनीहरुले नै विमानस्थलमा आत्मघाती विस्फोट गराएका विश्वास गरिएको छ ।
विस्फोटलगत्तै गरिएको खानतलासीका क्रममा सुरक्षाकर्मीहरुले विमानस्थलमा किला र रसायनिक पदार्थले भरिएको विस्फोटक ‘डिभाइस’ फेलापारेका छन् भने विमानस्थलका प्रस्थान कक्षमा एक राइफल फेलापरेको छ ।
त्यसैगरी, बम राखिएको एक ज्याकेट पनि बरामद गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
मंगलबार ब्रसेल्सको विमानस्थल र मेट्रो रेलसेवामा गरिएको आक्रमणमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने २ सय ५० जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्