सरकारबाट बाहिरिने एमाओवादीको चेतावनी • Image Khabar Image Khabar


सरकारबाट बाहिरिने एमाओवादीको चेतावनी


Imagekhabar
१३ चैत्र २०७२, शनिबार १३:२१

सरकारबाट बाहिरिने एमाओवादीको चेतावनी

काठमाडौं, चैत १३ । भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान दिन नसकेको भन्दै एकीकृत नेकपा माओवादीले आपत्ति जनाएको छ ।

भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने भनेको राहत रकमसमेत वितरण हुन नसकेको र काम गर्ने शैली असाध्यै सुस्त भएको भन्दै सो पार्टीले असन्तुष्टि जनाएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पपीडितले राहत नपाउने अवस्था कायमरहेमा सरकारबाट बाहिरिने चेतावनीसमेत दिए ।

उनले भने–‘जनता खुला आकाशमुनि बस्नुपर्ने अवस्था छ, घर तथा आवास बनाउने काममा सरकारको सहयोग नहुने हो भने सरकारबाट बाहिरिनुपर्ने हुन्छ ।’

कर्णालीका पाँचओटै जिल्ला, सेती महाकालीका पहाडी जिल्ला भोकमरीमा परेको भएपनि सरकारले खाद्यान्न पुर्‍याउनेतर्फ कुनै पहल गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश चुलिएको प्रवक्ता शर्माको कथन थियो ।

बंगलादेशले उपलब्ध गराएको ७० हजार मेट्रिकटन खाद्यान्न पूर्वाञ्चलमा सड्ने अवस्थामा पुगेको तर भोकमरीपीडितलाई वितरण गर्नेतर्फ पहल नभएको र सरकारी संयन्त्र परिचालित नभएकामा उनले गुनासो गरे ।

प्रवक्ता शर्माले भने–‘सबै संयन्त्र परिचालन गरेर भोकमरीपीडितलाई खाद्यान्न पुर्‍याउनुपर्छ । जनता भोकभोकै मर्ने अवस्था आउनुहुन्न । जनताले सरकार भएको अनुभव गर्न पाउनुपर्छ ।’

फरक एक प्रसंगमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको र जनताको पक्षमा महत्वपूर्ण सम्झौता भएको टिप्पणी गरे ।

उनले भने–‘समग्रमा प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको छ । लामो समयदेखि चर्चामा रहेका महत्वपूर्ण द्विपक्षीय सम्झौता भएका छन् । त्यसले नेपालको दीर्घकालीन फाइदा गर्नेछ ।’

मुलुकका विद्यमान राजनीतिक समस्या समाधान गर्न सबै दल मिल्नुको विकल्प नभएको र साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा प्रवक्ता शर्माले जोड दिए । रासस

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्