प्रवेशिका परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी, मनाङमा ६९ जना मात्र • Image Khabar Image Khabar


प्रवेशिका परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी, मनाङमा ६९ जना मात्र


Imagekhabar
१४ चैत्र २०७२, आईतवार ०५:३७

प्रवेशिका परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी, मनाङमा ६९ जना मात्र

भक्तपुर, चैत १४ । यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)मा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।

परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए ।

यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ ।

परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो ।
परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।

यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ ।
परीक्षाको मर्यादा विपरीत अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्