नहरमा पानी बन्द गरेपछि किसान आन्दोलित • Image Khabar Image Khabar


नहरमा पानी बन्द गरेपछि किसान आन्दोलित


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ०९:५२

नहरमा पानी बन्द गरेपछि किसान आन्दोलित

ध्रुव भट्टराई

विराटनगर, चैत १७ । सुनसरी–मोरङ सिंचाइ योजनाले बिना सूचना नहरमा पानी बन्द गरेपछि मर्कामा परेका दुई जिल्लाका किसानहरु आन्दोलनमा जाने भएका छन् ।

सिंचाइ आयोजनाले नहरमा पानी रोकी मर्मत थालेपछि किसानले लगाएको हिउँदेबाली सिन्चित गर्नबाट बन्चित भएको भन्दै किसानहरुले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।

उनीहरुले तत्काल नहरमा पानी सुचारु गर्न पनि माग गरेका छन् ।

दुई जिल्लाअन्तर्गत्का १९ जल उपभोक्ता समितिका प्रमुखहरुले पत्रकार सम्मेलनमा सिंचाइ आयोजनाले पानी नछाड्दा हिउँदे मकै, सूर्यमुखीको खेती, तरकारी खेती र चैते धान उत्पादनमा समस्या भएको गुनासो राखेका थिए ।

मोरङ र सुनसरीमा विस्तार भएको मुख्य नहर ५३ किलोमिटर रहेको छ । त्यसभित्र १ सय १६ शाखा तथा उपशाखा नहर निर्माण भएको छ ।

सुनसरीको चतराबाट सुरु भएको नहरमा कोसी नदीको पानी वि.सं. २०४२ सालदेखि वितरण हुँदै आएको छ ।

यो नहरले सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्