पुनःनिर्माण र पूँजीगत खर्च तीव्र पार्न एडीबीको सुझाव • Image Khabar Image Khabar


पुनःनिर्माण र पूँजीगत खर्च तीव्र पार्न एडीबीको सुझाव


Imagekhabar
१७ चैत्र २०७२, बुधबार १३:४५

पुनःनिर्माण र पूँजीगत खर्च तीव्र पार्न एडीबीको सुझाव

काठमाडौं, चैत १७ । एसियाली विकास बैंक (एडीबी) ले पुनःनिर्माण र पुनःस्थापनाका लागि स्रोतको अभाव नभइ संस्थागत् अवरोध र प्रक्रियागत् साँघुरोपन रहेको जनाएको छ ।

पुनःनिर्माणका लागि जतिसुकै खर्च हुने भएपनि स्रोतको अभाव रहेको एडीबीले प्रस्ट पारेको छ ।

भूकम्पछि थलिएको नेपालको अर्थतन्त्र उकास्न पूँजीगत खर्चमा तीव्रता आवश्यक रहेको एडीबीले जनाएको छ ।

एडीबीले आर्थिक वर्ष सन् २०१६ मा नेपालको आर्थिकबृद्धि १ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा आएको सुस्तता, तराई–मधेसमा भएको राजनीतिक आन्दोलन र प्रतिकूल मौसमका कारण आर्थिकबृद्धि न्यून हुने एडीबीले जनाएको छ ।

एसियाली विकास परिदृश्य २०१६ सार्वजनिक गर्दै एडीबीले सन् २०१७ मा भने आर्थिकबृद्धि ४ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

तर, त्यसका लागि सामान्य मनसुन, पुनःनिर्माणमा तीव्रता एवं आन्तरिक राजनीतिक विवाद समाधान हुनुपर्ने जनाइएको छ ।

एडीबीका नेपाल देशीय निर्देशक किनिचि योकोयामाले पुनःनिर्माणसहित विदेशी लगानी भित्र्याउन अहिलेको समय नेपालका लागि स्वर्णिम रहेको बताए ।

देशको विकासका लागि नेपालले प्राप्त गरेको अवसर सदुपयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

यस वर्ष मूल्यबृद्धि पनि १० दशमलव ५ प्रतिशत पुग्ने अनुमान एडीबीको छ । सरकारले यस वर्ष आर्थिकबृद्धि २ प्रतिशत पुग्ने र मूल्यबृद्धि साढे ८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

एडीबीले चालु खाता र समग्र शोधनान्तर स्थिति सन् २०१५ कोभन्दा उच्च बचतमा रहेकाले नेपालको बाह्य क्षेत्र आर्थिक वर्ष सन् २०१६ मा थप सुदृढ हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्