नेपाल फिफा वरीयतामा ६ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा • Image Khabar Image Khabar


नेपाल फिफा वरीयतामा ६ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार ०९:४८

नेपाल फिफा वरीयतामा ६ स्थान माथि उक्लियो, अर्जेन्टिना शीर्षमा

काठमाडौं, चैत २५ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ वरीयतामा ६ स्थान माथि उक्लिएको छ ।

फिफाले अप्रिल महिनाका लागि विहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल १७९औं स्थानमा रहेको छ ।

केही अगाडि इतिहासकै खराब वरीयता १९२औं स्थानमा पुगेको नेपालको त्यसयता सुधार भइरहेको हो । फिफाले सार्वजनिक गरेको २०४ राष्ट्रको नयाँ वरीयतामा नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा रहेको छ ।

दक्षिण एसियामा पछिल्लो समय नेपालको प्रदर्शनले वरीयतामा सुधार भएको हो । ४ स्थान सुधार गर्दै विश्व वरीयतामा १४७औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियामा शीर्ष स्थानमा कायम छ ।

माल्दिभ्स दुई स्थान तल झर्दै दक्षिण एसियामा दोस्रो तथा विश्व वरीयतामा १६०औं स्थानमा छ ।

दुई स्थान नै तल झर्दै दक्षिण एसियामा तेस्रो स्थानमा रहेको भारत विश्व वरीयतामा १६२ स्थानमा रहेको छ भने विश्व वरीयतामा १७७औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियामा चौथो स्थानमा छ ।

नयाँ वरीयताअनुसार दक्षिण एसियामा भुटान छैटौं, श्रीलंका सातौं र पाकिस्तान पुछारमा रहेका छन् ।

फिफाको पछिल्लो विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ भने बेल्जियम दोस्रो, चिली तेस्रो, कोलम्बिया चौथो र जर्मनी पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्