काठमाडाैं । स्पेन फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ।
अमेरिकाको डलास स्टेडियममा बुधबार बिहान सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले उपाधिको दाबेदार टोली फ्रान्स २-० गोलले पराजित गरेकाे हाे। स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक-एक गोल गरेका थिए। स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो । फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
स्पेनले दोस्रो हाफको ५८औँ मिनेटमा अग्रता दोब्बर बनायो । उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका थिए । त्यसपछि थप गोल हुन सकेन । सन् २०१० को उपाधि विजेता स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएकाे छ । स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने भएकाे हाे।
दोस्रो सेमिफाइनलमा बुधबार मध्य राति पौने १ बजे इंग्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएकाे छ। अर्जेन्टिना साविक उपाधि विजेता टोली हो । यो विश्वकपको फाइनल खेल आगामी साउन ३ गते आइतबार राति पौने १ बजे हुने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्