काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग-२ काे तयारीमा रहेको नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई ८१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ ।
जर्सीको ग्रेनभिलमा साेमबार राति भएको खेलमा नेपालले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमै १ सय ६९ रनमा अलआउट भएकाे हाे । जर्सीका लागि चार्ली ब्रेननले अविजित ८२ तथा डानियल बिरेलले ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १०५ को शतकीय पारी खेलेका थिए । भीम सार्कीले ३९ रनको योगदान गरेका छन् ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ५० रन बनाएको थियो । बलिङतर्फ हेमन्त धामीले चार विकेट लिए भने आरिफ शेखले तीन विकेट लिएका हुन् । करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका छन् ।
अब नेपालले बुधबार दोस्रो अभ्यास खेल खेल्ने भएकाे छ । त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खला खेल्न जाने भएकाे हाे । यो शृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्