
काठमाडौं, चैत २८ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अफ्ठेरो परिस्थितिमा सेनालाई संस्थागत्रुपमा लोकतान्त्रिक मार्गमा डोर्याउन पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको महत्वपूर्र्ण योगदान रहेको बताएका छन् ।
पूर्वप्रधान सेनापति गुरुङको आत्मकथा ‘जनताको छोरो’को आइतबार राजधानीमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानसेनापति रुक्माङ्गद कटवालबीचको विवादले अफ्ठेरो परिस्थिति ल्याएकोबेला बलाधीकृतको हैसियतमा गुरुङले खेलेको भूमिकाले स्थिति नियन्त्रणबाहिर नगएको जिकिर गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राणा र घरानीयाका छोरामात्रै सेनाको माथिल्लो तहमा पुग्ने गरेकोमा सामान्य परिवारबाट आएको जनताको छोरोलाई प्रधानसेनापति बनाउनुपर्छ भन्ने मान्यताकासाथ आफूले गुरुङलाई प्रधानसेनापतिमा ल्याउन सिफारिस गरेको बताए ।
कार्यक्रममा प्राध्यापक लोकराज बरालले नेपाली सेनाले अहिलेसम्म भएका कुनैपनि राजनीतिक परिवर्तनमा नकारात्मक भूमिका नखेलेको भन्दै सैन्य संगठनको प्रशंसा गरे ।
तीन सय ७८ पृष्ठको पुस्तकमा पूर्वप्रधानसेनापति गुरुङले तत्कालीन प्रधानमन्त्री दाहाल र प्रधानसेनापति कटवालबीचको विवाद, प्रधानसेनापतिमा आफ्नो नियुक्ति, माओवादी लडाकू समायोजन तथा लडाकू, हतियार र शिविर नेपाली सेनाको मातहतमा आएकोलगायतका विषय समेटेका छन् ।
तनहुँको पुलिमराङ गाविसमा जन्मिएका गुरुङ वि.सं. २०२८ सालमा सेनामा प्रवेश गरेका थिए भने २०६६ साल भदौमा प्रधानसेनापति बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्