२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


नेपालद्वारा चीन सरकारलाई ‘भद्र’ र ‘रुपसी’ गैंडा उपहार प्रदान


0
Shares

काठमाडौं, असार २८ । नेपाल सरकारले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् ।

दुबै गैडा हिजो चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।

सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखेको छ ।

गैडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको अरु देशसँगको मित्रतालाई सुदृढ गर्दै लैजाने लक्ष रहेको बताए ।

यस कदमले चीनसँगको मित्रता झन् प्रगाढ हुने उनको विश्वास छ ।

वन्यजन्तु सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशिल रहेको पनि प्रधानमन्त्री ओलीले बताए । नेपाल भौगोलिक दृष्टिले सानो राष्ट्र भएपनि प्राकृतिक दृष्टिले अरुभन्दा धनी रहेको पनि उनले उल्लेख गरे ।

नेपालका लागि चीनका राजदुत यु हङले गैडाका लागि नेपालजस्तै चीनमा पनि अनुकुल वातावरण रहेको बताउदै उपहारमा प्राप्त गैडालाई आफ्नै परिवारसरह पालन पोषण गरिने बताए ।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ ।

नेपालमा पछिल्लो गणनाअनुसार ६ सय ४५ वटा गैंडा छन् । चितवनमा मात्रै ६ सय ५ वटा गैंडा रहेको तथ्यांक छ ।