
भक्तपुर, असार २८ । बुधबारदेखि परेको अविरल वर्षाका कारण भक्तपुर केही भाग जलमग्न भएका छन् ।
बाढी र पहिरोका कारण कतिपय सडकहरु पनि अवरुद्ध भएका छन् ।
अविरल वर्षापछि आएको बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ ।
भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।
दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे–निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् ।
लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ ।
मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् ।
बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् । घट्टे खोलामा बाढी आएका कारण आदर्शबाट भेलुखेल जाने पुल बगाएको छ ।
मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडिबुटीस्थित सुकुम्बासी वस्ती पुरै डुबानमा परेको छ ।
बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले उद्धार गरिरहेको छ ।
हनुमन्ते खोलाले भक्तपुर हरेक वर्ष डुबानमा पर्दै आएको छ । बाढीका कारण बागमती नदी आसपास काठमाडौंका केही ठाउँ पनि प्रभावित भएका छन् ।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ ।
यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । दिउँसो बर्षा केही कम भएपछि बाढी पनि कम हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्