
हेटौंडा, असार १८ । मदन भण्डारी राजमार्गमा पर्ने हेटौंडा–कुलेखानी सडक खन्डको सिस्नेरी–३ अमलडाँडामा शनिबार बिहान परेको वर्षाले पहिरो जाँदा हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने यातायात सेवा ठप्प भएको छ ।
हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सयौं जिप, कार मिनीबसलगायत सवारी–साधन अब फाखेल सडकबाट चल्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फाखेल सडकखन्डमा पर्ने कुलेखानी गाविस–८ सुकौराडाँडामा शनिबार अपराह्न पहिरो जाँदा त्यहाँपनि काठमाडौं–हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा अपराह्न २ बजेदेखि अवरुद्ध भएको फाखेल प्रहरीचौकीले जनाएको छ ।
अहिले फाखेलको सुकौराडाँडामा हेटौंडा एवं काठमाडौंबाट आएका करिब ६०० सवारी–साधन अलपत्र परेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाइँले राससलाई जानकारी दिए ।
सिस्नेरी गाविसको अमलडाँडा एवं कुलेखानी गाविसको सुकौराडाँडामा गएको पहिरो हटाउन अहिले प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको छ ।
शनिबार राति १० बजेदेखि नै सो अवरुद्ध यातायात सेवा चालु गर्ने लक्ष्य राखिएको मकवानपुरका प्रजिअ डा. मानबहादुर विश्वकर्माले राससलाई बताए । रासस
प्रतिक्रिया दिनुहोस्