
फाइल फोटो
काठमाडौं, असार २५ । व्यवस्थापिका–संसदबाट विनियोजन विधेयक २०७३ पारित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले शनिबार बजेटबारे उठेका प्रश्नको जवाफ दिएपछि विनियोजन विधेयक बहुमतले पारित गरिएको हो ।
विधेयक पारित भएसँगै अब आगामी साउन १ गतेबाट बजेट कार्यान्यनमा आउने छ ।
बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले योपटकको बजेटले मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाटो खोलेको दाबी गरे ।
उनले सरकार बजेट कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै यो बजेटको विपक्षीले विरोध गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे ।
सबै तह र तप्काका जनतालाई बजेटले समेटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल र नेपालीका निम्ति आर्थिक, सामाजिक समृद्धिबाहेकको अर्को बाटो नभएको बताए ।
बजेटले स्वदेशी लागानीमा ठूला आयोजना निर्माणमा जोड दिँदै आमजनतामा सरकारप्रति अपनत्व सिर्जना गर्ने अवस्था बनाएको भन्दै उनले अब आर्थिक विकासको एजेन्डामा राजनीतिक स्वार्थलाई प्रवेश दिन नहुने बताए ।
प्रधानमन्त्री ओलीले आन्दोलनरत् दलहरुसँग अनौपचारिक संवाद भइरहेको दाबी पनि गरे ।
उनले आफू वार्ताबाटै सबै समस्याको समाधान खोज्न प्रयासरत् रहेको पनि स्पस्ट पारे ।
शनिबारै बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्