
प्रतीक लामिछाने/कुमार कटुवाल (इमेज)
काठमाडौं, असार २७ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारदेखि सर्वोच्च अदालतको प्रधानन्यायधीशको पदभार ग्रहण गरेकी छन् ।
८ वर्षअघि अस्थायी न्यायाधीशकोरुपमा सर्वोच्च छिरेकी कार्की प्रधानन्यायाधीशमा नियुक्त भएसँगै नेपालको न्यायालयमा एउटा नयाँ इतिहासको रचना भएको छ ।
सोमबार मध्याह्न राष्ट्रपति कार्यालय शीतल निवासमा सुशीला कार्कीले सर्वोच्च अदालतको प्रधानन्यायाधीशकारुपमा पद तथा गोपनीयताको सपथ लिइरहँदा सर्वोच्च अदालत परिसरमा अदालतका कर्मचारी मात्र हैन, न्याय र कानुन क्षेत्रका थुपै्र व्यक्तिहरु उनको स्वागतका लागि तम्तयार देखिन्थे ।
सपथग्रहणलगत्तै शीतल निवासबाट सीधै सर्वोच्च परिसर पुग्दा उनको भव्य स्वागत् गरिएको थियो ।
सयौंले दिएको सफल कार्यकालको शुभकामना र स्वागतको पुष्पगुच्छा लिएर जिम्मेवारी बहन गर्नका लागि प्रधानन्यायाधीश कार्की हाल सर्वोच्च रहेको भवनको चौथो तलामा पुगिन् ।
उनले त्यहाँ पुगेर पदभार ग्रहण गरिन् र केहीबेर त्यहाँका कानुन व्यवसायी, न्यायाधीशलगायतसँग छलफल गरी आफ्नो भावी योजना सुनाउन सोही भवनको पहिलो तलामा आयोजित पत्रकार सम्मेलनमा सहभागी भइन् ।
विभिन्न आरोह–अवरोधकाबीच देशको सर्वोच्च न्यायालयको प्रमुख बन्न सफल प्रधानन्यायाधीश कार्की आफूसँग चुनौती र अवसर दुबै रहेकाले यसलाई मिलाएरै अघि बढ्नुको विकल्प नभएको बताउँछन् ।
सर्वोच्च अदालतकोसामु रहेका चुनौतीका पहाड चिर्न राजनीतिक दलहरुले बेलैमा प्रदेश विभाजनको टुंगो लगाउनसके त्यसले आफूहरुलाई निक्कै सहज बनाउने उनले बताइन् ।
विशेषगरी आमजनताको पहुँचमा न्यायसेवा प्रवाह गर्नु आफ्नो मुख्य ध्येय हुने बताउँदै नवनियुक्त प्रधानन्यायधीश कार्कीले निमुखा जनतासम्म न्यायालयको पहुँच स्थापना गर्ने लक्षमा आफू लागिपर्ने बताइन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्