१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते


0
Shares

तनहुँ, साउन ५ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नम्बरको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा बुधबार बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय नारायणप्रसाद पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते पाण्डेलाई दमौलीमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल अस्पतालमा थप उपचारका लागि पठाइएको छ भने अन्यको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गुडेका कारण घुम्ती सडकमा उक्त बस अनियन्त्रित भई पृथ्वीराजमार्ग सडकबाट करिब १५ मिटर तल गई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सहचालक पर्सा जिल्ला वैरियाविर्ता–७ का २० वर्षीय उपेन्द्रप्रसाद डोटेल, चालक शुक्लागण्डकी नगरपालिका–३ का ४० वर्षीय सुरजकुमार श्रेष्ठ, चितवनको भरतपुर नगरपालिका–१२ का २२ वर्षीय सुलभ विष्ट तथा कास्की जिल्ला रुपाकोट गाविस–१ तालबेँसीका ३३ वर्षीय गणेश गुरुङ रहेका छन् ।

त्यसैगरी, उक्त दुर्घटनामा कास्की लेखनाथ नगरपालिका–८ निवासी ६० वर्षीया जोखमाया गुरुङ, पोखरा उपमहानगरपालिका–७ का ४८ वर्षीय याम खड्का, सोही वडा निवासी १५ वर्षीया श्रीयङ्का खड्का, लेखनाथ नगरपालिका–१ का ४० वर्षीय सुनबहादुर गुरुङ र सोही वडा निवासी २५ वर्षीया सम्झना गुरुङ रहेका छन् ।

उक्त बस दुर्घटनास्थलमै रहेको बताइएको छ । (रासस)