Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भारतद्वारा तीन चिनियाँ पत्रकार देश निकाला, भारतलाई चिनियाँ मिडियाको चेतावनी


0
Shares

नयाँ दिल्ली, साउन १० । चीन र भारतबीचको सम्बन्धमा फेरि फाटो देखा परेको छ । भारतले हालै तीन चिनियाँ पत्रकारलाई देश निकालाको आदेश दिएलगत्तै चिनियाँ मिडियाले भारतलाई चेतावनी दिएका छन् ।

भारतलाई परमाणु आपूर्तिकर्ता समूहमा आवद्ध हुनबाट चीनले रोकेको प्रतिशोध साँध्नका लागि भारतले तीन चिनियाँ पत्रकारलाई देश निकालाको आदेश दिएको चिनियाँ मिडियाको ठहर छ । चिनियाँ मिडियाले भारतलाई चेतावनी दिदैं ‘यस्तो व्यवहारको परिणाम गम्भीर हुने’ प्रष्ट पारेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा भनेको छ, ‘वास्तवमै परमाणु आपूर्तिकर्ता समूहमा चीनका कारण भारतले स्थान नपाएको झोँकमा उसले भारतमा रहेका तीन चिनियाँ पत्रकारलाई देश निकाला गरेको हो भने त्यसको गम्भीर परिणाम भोग्नुपर्नेछ ।’

उल्लेखीय छ, भारतले चिनियाँ सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’ का तीन पत्रकारलाई ३१ जुलाइभित्रै भारत छाड्न आदेश दिएको छ । भारतको केन्द्र सरकारका अनुसार यी तीन चिनियाँ पत्रकार आफ्नो निर्धारित अवधिपछि पनि भारतमा बस्दै आएका थिए ।

भारत छाड्न आदेश दिइएका तीन पत्रकारमा एकजना सिन्ह्वाका लागि दिल्ली ब्यूरो प्रमुख छन् भने अन्य दुईजना मुम्बईमा रहेर सिन्ह्वाका लागि काम गर्दै आएका छन् । उनीहरुको भिषा अवधि गत जनवरीमै समाप्त भएको बताइएको छ । त्यस यता उनीहरुले नियमित रुपमा आफ्नो बसाइ लम्ब्याउन अनुमति लिदैं आएका थिए । यसपटक भने भारतले उनीहरुको बसाइ अवधि नलम्ब्याउने निर्णय गरेको हो ।

उनीहरुको बसाइ अवधि लम्ब्याउन नचाहनुको प्रष्ट कारण भारत सरकारले खुलाएको छैन । तर केही भारतीय संचारमाध्यमका अनुसार उनीहरुमाथि केही महिनादेखि नै भारतीय सुरक्षा निकायले निगरानी बढाएको थियो । उनीहरुले केही तिब्बती नेताहरुसँग भेटघाट गरेको आधारमा भारतले यस्तो कारवाही गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)