बाढी–पहिरोमा परी १३ जनाको मृत्यु, सयौं विस्थापित « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


बाढी–पहिरोमा परी १३ जनाको मृत्यु, सयौं विस्थापित


0
Shares

काठमाडौं (जिल्ला व्यूरो), साउन ११ । अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

गुल्मी, पाल्पा, मकवानपुर र प्युठानमा आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । गुल्मीको विशुखर्क, हस्तीचौर र गैंडाकोटमा सोमबार राति पहिरोले दुई घर र एउटा गोठ पुरिँदा सात जनाको मृत्यु भएको छ ।

विशुखर्क गाविस–९ पदमखानीमा पहिरो जांदा गोपाल रानाका ९ वर्षीय छोरा सुजन र ७ वर्षिया छोरी सिमानाको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको हो । यस्तै गुल्मीको हस्तीचौर गाविस–१ माल्वीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको परिचय खुल्न बाँकी छ । त्यसैगरी गुल्मीकै गैंडाकोट–७ मा पहिरोले गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अविरल बर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले गुल्मीका दुईवटा झोलुंगे पूल बगाएको छ भने धार्मिक स्थल रिडि बजार उच्च जोखिममा परेको छ ।

यस्तै कालीगण्डकी नदीको बाढीले रिसिकेस मन्दीर समेत जोखिममा परेको छ । नदीको बहाब अहिले ऋषिकेस मन्दिरमा पुग्न लागेको प्रहरीले जनाएको छ

यता, रिडिमै कालीगण्डकीको बाढीले ३ घर बगाएको छ भने बडीघाट खोलामा आएको बाढीले उर्लिखोला बजारका ५९ घर परिबार बिस्थापित भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्युठानमा पनि गएराति पहिरोले एक घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । लुम–६ उपल्लो बहानेमा बर्षासँगै गएको पहिरोले शिशिर केसीको घर पुरिँदा उनकी २५ बर्षिया श्रीमती रजनी केसी र ३ बर्षिया छोरी मुस्कानको मृत्यु भएको छ ।

यता, मकवानपुरको भीमफेदी गाविस–५ स्थित सोलुभन्ज्याङमा आज बिहान पहिरोले मनमाया स्याङतानको घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्तानका ज्वाइँ २५ वर्षीय टेकबहादुर रुम्वा, छोरी २३ वर्षीय पार्वती रुम्वा र नाती ६ वर्षीय विकास रुम्बा छन् ।

यस्तै पाल्पाको दोभान–५ झुम्सामा गएराति पहिरोले सात घर बगाएको छ । पहिरोमा परी अस्मिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ

यसैबीच कास्कीको मादी नदीले सिन्धुजुरेस्थित सोधा गाउँका अशोक भुजेल, बालसिंह भुजेलको घर, एउटा क्लिनिक र एउटा बिद्यालयका दुई वटा कोठा बगाएको छ ।

कास्कीकै घट्टेखोलामा पहिरो जाँदा पोखरा–बाग्लुङ राजमार्ग पनि अबरुद्ध भएको छ । पोखरा–पामे सडक खण्डको पनि ठाउँठाउँमा पहिरो गएका कारण सडक पूर्णरुपमा अबरुद्ध बनेको हो । पोखराको छोरेपाटनस्थित घैया फाँट पनि जलमग्न हुँदा अधिकांश घरमा पानी पसेको प्रहरीले जनाएको छ ।