
बैंगलोर, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर बैंगलोरले पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।
आफ्ना ७ खेलमा पराजय व्यहोरिसकेको बैंगलोरका लागि एकमात्र पराजयले पनि आईपीएलको अघिल्लो चरणमा प्रवेशका लागि बाटो छेक्न सक्छ । बाँकी सबै म्याचमा जित्नै पर्ने बाध्यता रहेको बैंगलोरका लागि पञ्जाबविरुद्ध जित हासिल गर्न दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डि भिलियर्सले विस्फोटक ब्याटिङ गरे ।
पहिला ब्याटिङ गरेको बैंगलोरले डि भिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रनको योगफल तयार पारेको थियो । डि भिलियर्सले ४४ बलमा अविजित ८२ रन बनाएका थिए । त्यसैगरी पार्थिव पटेलले २४ बलमा ४३ रन बनाए भने मर्कुस स्टोइनिसले ४६ रन बनाए ।
पञ्जाबका बलरमा मोहम्मद सामी सर्वाधिक महँगा साबित भए । उनले चार ओभर बलिङ गर्दै एक विकेट हासिल गरेर ५३ रन दिए । अर्का बलर हार्डुस भिल्जोनले पनि चार ओभरमा ५१ रन दिए ।
२०३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८५ रनमात्र बनाउन सक्यो । पञ्जाबका लागि क्रिस गेल र केएल राहुलले राम्रै सुरुवात दिएका थिए । ३.२ ओभरमा टिमका लागि ४२ रन जोडेको अवस्थामा गेल व्यक्तिगत २३ रन बनाएर बाहिरिए । राहुललाई साथ दिन आएका मयंक अग्रवालले ३५ रन बनाएर बाहिरिए । राहुलले ४२ रन बनाए भने निकोलस पुरनले ४६ र डेविड मिलरले २४ रन बनाए ।
जारी सिजनमा पञ्जाबको यो छैठौं पराजय हो ।
प्रतिक्रिया दिनुहोस्