
फाइल फोटो
काठमाडौं, साउन ११ । व्यवस्थापिका–संसदको मंगलबारको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन भएको छ ।
‘नेपालको संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट यही साउन १० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले बैठकमा प्रस्ताव गरेका थिए ।
सभामुख ओनसरी घर्तीले सो आदेशलाई अनुमोदनको प्रस्ताव निर्णयार्थ पेस गर्दा ध्वनिमतका आधारमा बहुमतबाट अनुमोदन भएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खरेलले प्रधानमन्त्रीले राजीनामा गर्नुअघिको मन्त्रिपरिषदले सो आदेश जारीका लागि सिफारिस गरेको जनाउँदै संविधानको धारा २९८ नयाँ सरकार गठनमा अपर्याप्त भएकाले कानुनसम्मत्रुपमा सो निर्णय गरिएको स्पस्ट गरे ।
उनले प्रतिप्रश्न गर्दै भने–‘के सरकारले अस्पस्टतालाई हटाउनु पर्दैन ? नयाँ सरकार गठनका लागि बाटो खुलाउनु पर्दैन ? मार्गप्रशस्त गर्दा के गल्ती भयो ?’
उनले सो आदेशबारे उत्पन्न चिन्ता पात्र र प्रवृत्तिमा भरपर्छ भन्दै भविष्यमा यसबाट कुनै अनिष्ट नहुने विश्वास दिलाए ।
सरकार संविधान संशोधनका लागि तयार रहेपनि दलहरु तयार नभएकाले बाधा अड्काउको बाटामा गइएको बताए ।
उनले संसद चलिरहेको समयमा बाधा अड्काउ फुकाउने आदेश हुने अभ्यास विगतमा पनि भएको स्मरण गराए ।
त्यसअघि, सांसद लोकमणि ढकाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मालगायतले छलफलमा भाग लिँदै आदेश जारी हुनु आवश्यक नरहेको बताएका थिए ।
संसदको अर्काे बैठक यही साउन १७ गते अपराह्न ३ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्