Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


राप्रपा र राप्रपा नेपालबीचको एकतापछि पार्टीको नेतृत्व कसले गर्छ ? यसो भन्छन् राणा


0
Shares

                                                                   फाइल फोटो

काठमाडौं, साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले राप्रपा नेपालसँग चाँडो एकता हुने बताएका छन् ।

रिपोर्टर्स् क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले एकीकरणपछि नयाँ पार्टीमा निर्देशन समिति निर्माण गरिने, त्यसले सम्पूर्ण पार्टीलाई सन्चालन गर्ने र त्यसको नेतृत्व आफूले गर्ने बताउँदै पार्टीको अध्यक्ष कमल थापालाई बनाउने सहमति भएको जानकारी दिए ।

नेता राणाले भने–‘पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भइरहेको छ, कतिपय असहमतिका बुँदामा हामी महाधिवेशनबाट टुंगोमा पुुग्छौं ।’

मुलुकमा अब हिन्दू गणतन्त्रलाई स्थापित गर्नुपर्ने बताउँदै उनले भने–‘अब हुन लागेको पार्टी एकता कहिल्यै नफुट्ने गरी हुने एकता हो, विवादित विषय महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ ।’

अध्यक्ष राणाले कांग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनमा सहभागी हुने तथा उक्त गठबन्धनको सरकारलाई आफ्नो पार्टीले समर्थन गर्ने वा नगर्ने निर्णय एकीकरणपछि गरिने संयुक्त बैठकले निर्धारण गर्ने प्रस्ट पारे ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले भूकम्पपीडित जनतालाई राहत प्रदान गर्न नसकेको, कालोबजारी नियन्त्रण गर्न नसकेकोे, मधेसको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयनमा गति लिन नसकेको बताउँदै पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए ।

अध्यक्ष राणाले नेपालको पराष्ट्र नीति एउटै हुनपर्नेमा जोड दिँदै हामी भारत र चीन दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी अगाडि बढ्नुपर्ने बताए । रासस