फाइल फोटो
काठमाडौं, साउन १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको प्रमुख कार्यभार मधेस, थारु, आदिबासी जनजातिको मुद्दा सम्बोधन गर्दै संविधानको कार्यान्वयन गर्नु रहेको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको राष्ट्रिय भेलालाई विहीबार राजधानीमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकतालाई बलियो बनाउन आन्तरिक एकतालाई बल बनाउनुपर्ने भएकाले संविधान निर्माण प्रक्रियाबाटै असहमति राख्दै आएका दल तथा समूहलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
भूकम्पपछिको पुनःनिर्माण अभियानको नेतृत्व गर्ने र विगतका सरकारका राम्रा पक्षलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने जिम्मेवारी इतिहासले सुम्पन लागेको उनको कथन थियो ।
उनले संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनका लागि सबै दल तथा पक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिँदै जनतालाई विश्वासमा लिएर अगाडि जान कोही कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताए ।
नेपाल र विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ लहर पैदा गर्नका लागि नयाँ कम्युनिस्ट घोषणापत्रको जरुरी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएकाले पनि नयाँ विचार र राजनीति आवश्यक भएको उल्लेख गरे ।
मुलुकको राजनीतिक घटनाक्रम एवं बाम आन्दोलनलाई अगाडि बढाउन नयाँ विचारसहितको राजनीतिक दिशा जरुरी रहेको भन्दै उनले विद्यार्थी आन्दोलनलाई पनि नयाँ आधारमा अगाडि बढाउन जरुरी रहेको बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीकाबीचमा अगाडि बढेको नयाँ ध्रुवीकरणलाई सार्थक दिशामा अगाडि बढाउन माओवादीले विशेष पहल गरिरहेको भन्दै उनले ‘माओवादी पहिचान स्थापित नहुँदासम्म उत्पीडित वर्ग, क्षेत्र, जाति र समुदायको पहिचान स्थापित हुन सक्दैन’–भने ।
कार्यक्रमा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा, हितमान शाक्यलगायतले क्रान्तिकारी विद्यार्थी समाजका अग्रद्रष्टा भएको मुलुक, जनता र आदर्शको पक्षमा लाग्न जोड दिए । रासस










प्रतिक्रिया दिनुहोस्