Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


चिनियाँ राजदुतले दाहाललाई भने– ‘चीनले पूर्ण सहयोग गर्छ’


0
Shares

काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईले शुक्रबार बिहान भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा चिनियाँ राजदुतलाई अध्यक्ष दाहालले अहिलेको राजनीतिक घटनाक्रमबारे जानकारी दिँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास दिलाएका थिए ।

आफ्नो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवं शान्ति, पुनर्निर्माण र विकासका कामलाई तीव्रताका साथ अगाडी बढाउने उनले बताए ।

पछिल्लो चरणमा आफ्नो पार्टीसमेत संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धि, सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको दावी गर्दै दाहालले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धि, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने जनाएका थिए ।

राजदुत चुन्ताईले भने नयाँ सरकारलाई पनि चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बचन दिएका थिए । नेपालको विकासको निम्ति चिनियाँ सरकारको सधै सहयोग र समर्थन रहने राजदूत चुन्ताईको भनाइ थियो ।