Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चा : डा भट्टराई


0
Shares

तुलसीपुर, साउन १७ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालको सत्ता परिवर्तनमा सधैँ भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे । नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उनले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने बताए ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उनको भनाइ छ ।

डा भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने बताए ।

बर्सेनि भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक वार्ता हुन नसकेको उल्लेख गर्दै उनले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक रहेको बताए । (रासस)