
फाइल फोटो
काठमाडौं, साउन १७ । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार ‘सवस्टेसन’मा भएको आगलागीका कारण रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कुलेखानी जलविद्युत् आयोजनाबाट ल्याइएको विद्युत् काठमाडौं उपत्यकामा वितरण गर्न निर्माण गरिएको उक्त सवस्टेसनमा रहेको १३२/६६ केभी क्षमताको ठूलो ट्रान्सफर्मरमा सोमबार अपराह्न २ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक हेमकुमार थापाले नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणमा लिएको जानकारी दिए ।
कुलेखानीबाट आएको विद्युत् प्रवाहमा समस्या आउँदा आगलागी भएको प्राधिकरण स्युचाटार सवस्टेसनका इलेक्ट्रिसियन शारदा देवकोटाले जानकारी दिए ।
‘करिब १५ मिनेट विद्युत् प्रवाह बन्द भयो, सम्पूर्ण प्रणाली नै बन्द भयो, त्यसलाई नियन्त्रणमा लिने प्रयास गर्दा गर्दै पुनः दोस्रोपटक विद्युत् प्रणालीमा समस्या भयो र आगो लाग्यो । आगलागीबाट एउटा ठूलो ट्रान्सफर्मरमा क्षति पुगेको छ’–देवकोटाले भने ।
कुन कारणले आगलागी भयो भन्नेबारेमा थप अध्ययन भइरहेको इलेक्ट्रिसियन देवकोटाले बताए ।
काठमाडौं उपत्यकाभर प्रसारण हुने सोे सवस्टेसनमा नै आगो लागेपनि वैकल्पिक उपाय अपनाएर विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्