Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


‘एमालेबाट नेम्वाङ प्रधानमन्त्रीका उम्मेदवार’


0
Shares

                                                                   फाइल फोटो

काठमाडौं, साउन १७ । नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अघि सार्ने बताएका छन् ।

रिपोर्टर्स् क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वभाविकरुपमा उपनेतालाई अघि सारिने बताए ।

सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीनओटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत् मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नपनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल हुने बताए ।

अबको सरकारले संघीय गठबन्धन र एमाले दुबैलाई साथमा लिएर सहकार्य गर्दै अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका नेता धनराज गुरूङले शान्ति–प्रक्रिया, पुनःनिर्माण र आर्थिक समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नभएको बताउँदै संविधान कार्यान्यवनका लागि एमालेले प्रतिपक्षमा रही रचनात्मक सहयोग गर्नुपर्ने बताए ।

मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफ्ना माग सम्बोधन भए सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग गर्ने बताउँदै निर्वाचनमा मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने स्पस्ट पारे । रासस