Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


राजधानीका शक्तिशाली क्याम्पसका नेताको प्रभावशाली पदमा दावी


0
Shares

काठमाडौं, साउन २० । संघारमा रहेको कांग्रेस निकट नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि उम्मेद्वारहरुको संख्या बढ्ने क्रममा छ । करिब एक दशकदेखि हुन नसकेको महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म काठमाडौं हुने भएपछि ‘बाबु पुस्ता देखि छोरा पुस्ता’सम्मका नेताहरुले उम्मेद्वारी घोषणा गरिरहेका छन् ।

काठमाडौं उपत्यका बाहिर भन्दा पनि भित्रै सक्रिय हुने गरेका क्याम्पस तथा जिल्ला इकाइ स्तरका नेताहरुले प्रभावशाली पदका लागि उम्मेद्वारी दिएर चुनावी माहोल तताएका छन् । राजधानी भित्रका ठूला मानिएका क्याम्पस इकाइ, जिल्ला कार्यसमिति, विश्व विद्यालय, स्ववियूमा सक्रिय राजनीति गरिरहेका नेताहरुले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीजस्तो प्रभावशाली पदमा दावी गरेर माहोल तताएका हुन् ।

यसअघि केन्द्रीय समितिमा नरहेका नयाँ अनुहारहरु प्रभावशाली पदमा दावी गरिरहेका छन् । जसका कारण बर्षौदेखि केन्द्रीय समितिमा बसेर नेतृत्वमा पुग्न लडिरहेका नेताहरु अफ्ठ्यारोमा परेका छन् । नयाँ अनुहारहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने संकेत बुझेपछि अध्यक्ष तथा महामन्त्रीका पुराना प्रत्यासीहरु चुनावी मैदानमा उत्रिनु ‘फलामको चिउरा’ चपाउनु सरह भएको बताउन थालेका छन् ।

नेवि संघका केन्द्रीय सदस्य लाओस राई भन्छन्,‘लोकतन्त्रको सुन्दर अभ्यास भनेकै यही हो, लोकतान्त्रिक विचार र सिद्धान्त बोकेको संगठनमा यसरी प्रतिस्पर्धा गर्ने सबैले हिम्मत गर्नु भनेको हाम्रो सबल पक्ष हो ।’ संगठनलाई चलायमान राखिरहन समयमै महाधिवेशन गराउनु नसक्नु, नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्नु नै हाम्रो कमजोरी हो, सबैले स्विकार्नु पर्छ ।’

केन्द्रीय सदस्यका प्रत्यासी जयराम दाहाल भन्छन्, ‘महाधिवेशन निर्बाचन पद्धतीमै गयो भने नयाँ अनुहारहरुलाई व्यस्थापन गर्न निकै कठिन देखिन्छ । सर्वसहमती नै गराउँदा पनि नयाँ अनुहारहरुलाई वेवास्था गरिए ‘मुढभेढ’ निम्तिने खतरा पनि छ ।’

उपत्यका भित्रका त्रि–चन्द्र क्याम्पस, केन्द्रीय क्याम्पस किर्तिपुर, शंकरदेव क्याम्पस, बाल्मिकी क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ, आरआर, नेपाल ल,बानेश्वर क्याम्पस, ग्रामीण आदर्श, सिटीइभिटी, भक्तपुर बहुमुखी, विश्वविद्यालय इकाइ लगायतका दर्जन बढी क्याम्पसका दर्जनौं नेताहरुले अध्यक्ष देखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा गरेर मत मागिरहेका छन् । केही त्यस्ता उम्मेद्वारहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

शुभराम बस्नेत, शंकरदेव : कक्षा ६ मा अध्ययन गर्दाताका देखि नै नेवि संघको राजनीतिमा देखिएका शुभराम बस्नेत २०५३ सालबाट शंकरदेव क्याम्पसमा क्रियाशिल छन् । उनी यतिबेला अध्यक्षका प्रबल दावेदार हुन् । शंकरदेव क्याम्पसको स्ववियू सभापति भइसकेका शुभराम नेपाली शिक्षालाई व्यवहारिक, धनी र गरिबलाई समान शिक्षा स्थापित गराउने अभियानका साथ चुनावी दौडाहामा छन् ।

विनयराम भट्ट, त्रिचन्द्र : चितवनमा विद्यालय पढ्दा संगठनमा सामान्य मात्र सक्रिय देखिएका विनयराम भट्ट त्रि–चन्द्र क्याम्पसमा प्रवेश गरेपछि भने एकाएक चर्चामा आए । वि.स.२०५८ सालमा स्ववियू सदस्य हुँदै ०६२ मा विद्रोही उम्मेद्वारी दिएर उपसभापति भएका विनयलाई सभापति हुने सौभाग्य मिल्यो । त्रि–चन्द्रकै राजनीतिबाट उदाएका विनय यतिबेला महामन्त्रीको दाबेदारका रुपमा उभिएका छन् ।

बामदेव अधिकारी, नेपाल संस्कृत: धादिङमा निरन्तर १० बर्षसम्म नेवि संघको जिल्ला कार्यसमितिको सदस्य भएका बामदेव अधिकारी यतिबेला सह–महामन्त्रीका बलिया उम्मेद्वारका रुपमा उभिएका छन् । धादिङ–काठमाडौं सम्पर्क समिति अध्यक्ष, बाल्मिकी क्याम्पसको इकाइ अध्यक्ष हुँदै नेपाल संस्कृत विश्व विद्यालयको अध्यक्ष भइसकेका बामदेवले सह–महामन्त्रीमै बसेर संगठनलाई योगदान दिने बताउँछन् । संस्कृत शिक्षालाई विद्यालयतह बाटै लागु गराइनु पर्ने, नैतिक शिक्षामार्फत विद्यार्थीलाई अनुशासित बनाइनु पर्ने लगायतका एजेन्डा लिएर उनी चुनावी मैदानमा छन् ।

मनोज बैद्य, पशुपति बहुमुखी: नेवि संघको काठमाडौं जिल्ला सभापति तथा पशुपति बहुमुखी क्याम्पसका स्ववियू सभापति मनोज बैद्यले पनि महामन्त्रीका दावी उम्मेद्वारी दिएका छन् । उनले संगठनभित्रको बिकृती अन्त्यका लागि उम्मेद्वारी दिएको बताएका छन् ।

राजेन्द्र बाँस्तोला, त्रि–चन्द्र : नेवि संघ क्याम्पस इकाइको उपाध्यक्ष, इलाम–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भइसकेका राजेन्द्र बाँस्तोलाले पनि संघको ११ औं महाधिवेशनमा सह–महामन्त्री पदमा दावी गरेका छन् । उनी कांग्रेका महाधिवेशन प्रतिनिधी समेत हुन् ।

कुन क्याम्पसबाट कस्को दावी ?

राजधानी भित्रका करिब दुई दर्जन बढी क्याम्पसका नेताहरुले प्रभावशाली पदमा उम्मेद्वारी घोषणा गरिरहेका छन् । महामन्त्री पदका लागि बाल्मिकी क्याम्पसका स्ववियू सभापति रमेश रिजाल, त्रि–चन्द्रका इकाइ अध्यक्ष विष्णु पौडेल र पूर्व अध्यक्ष कृष्ण जैसीले उपाध्यक्षमा दावी गरेका छन् । शंकरदेवका इकाइ अध्यक्ष हरिश भण्डारी र डुजाङ शेर्पाले उपाध्यक्षमा दावी गरेका छन् । शंकरदेवकै अञ्जना अर्यालले कोषाध्यक्षमा दावी गरेकी छिन् भने निश्कल राईले पनि केन्द्रीय सदस्यमा मन देखाएका छन् ।  ।

पिके क्याम्पसबाट पनि धेरैले दावी गरेका छन् । विनिता बरालले अध्यक्षमा, महेश्वरी कुँवरले महामन्त्रीमा दावी गरेका छन् । चन्दा अधिकारी, कौशिक भट्ट, कृपा शर्मा, साधना घिमिरेलगायतले पनि महत्वपूर्ण पदमा दावी गरेका छन् । केन्द्रीय क्याम्पसबाट शंकर पौडेल सह–महामन्त्रीको दरिला उम्मेद्वार मानिन्छन् ।

अमृत साइन्स क्याम्पसबाट रामप्रसाद अधिकारीले अध्यक्षमा दावी गरेका छन् । सिजर भट्टले पनि महत्वपूर्ण पदमा इच्छा देखाएका छन् । नेपाल शिक्षा क्याम्पसबाट लब्लिकुमार बस्नेतले दावी गरेका छन् भने ग्रामीण आर्दशबाट शुसील भट्टको चर्चा छ ।

नेपाल ल क्याम्पसबाट संचिता कुईंकेल र रन्जिता कार्कीले महत्वपूर्ण पदमा इच्छा देखाएका छन् । सरस्वती क्याम्पसबाट रेणुका काउचा मगर र पाटन क्याम्पसबाट रवि खनालले केन्द्रीय समितिमा बस्ने मन गरेका छन् । भक्तपुर बहुमुखी क्याम्पसबाट प्रविण लाखेको चर्चा छ । उनले महत्वपूर्ण पदमा दावी गरेका छन् ।

यता आरआर क्याम्पसबाट दिनेशचन्द्र थपलिया सह–महामन्त्रीका प्रबल दावेदार मानिएका छन् भने डम्बरराज जोशी, शैलेन्द्र शर्मा गौंडेल, लिला भट्टराई, दिवाकर अर्यालले केन्द्रीय सदस्य पदमा दावी गरेका छन् । पब्लिक युथ क्याम्पसबाट रबिन्द्र रोकाय केन्द्रिय सदस्यका बलिया उम्मेद्वार मानिन्छन भने शुसील पौडेलले पनि इच्छा देखाएका छन् ।

थापाथली क्याम्पसका सुदीप शर्माले महामन्त्रीमा दावी गरेका छन् भने कुमार दुलाल, सन्तोष दाहाल, सुवास पौडेल केन्द्रीय सदस्यका रुपमा उम्मेद्वारी दिने तयारीमा छन् । विश्वभाषाबाट अच्युत कोइराला, केशब बाबु खतिवडाले इच्छा देखाएका छन् ।

उता पशुपति क्याम्पसबाट कृष्णकुमारी बस्नेत उपाध्यक्षकी बलियो उम्मेदवार हुन भने गोपि शिवाकोटीले पनि केन्द्रीय सदस्यमा जाने इच्छा देखाएका छन् । एनआर कलेज, नेपालटारबाट परोपकार अधिकारीले मन गरेका छन् । मनोहर क्याम्पसका इकाइ अध्यक्ष निरन्जन थापा पनि केन्द्रीय सदस्यका बलिया उम्मेद्वार मानिन्छन् । यसरी राजधानी भित्रका क्याम्पस तथा जिल्लाबाटै उम्मेद्वारी घोषणा गर्नेहरुको सूची अझै लामो छ ।