८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


राष्ट्रपतिद्वारा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन 


0
Shares

नेपालगन्ज, वैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुदको विकासमा सरकारले यथेस्ट लगानी गर्नुपर्ने बताएकी छन् ।

प्रदेश नम्बर–५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार नेपालगन्जमा उद्घाटन गर्दै उनले खेलाडीहरुले आफ्नो वृत्ति विकाससँगै शैक्षिक क्षेत्रमासमेत ध्यान दिने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले विद्यालय तहदेखि नै खेलकुदको स्तर बढाउन सकेमात्र अन्तर्राष्ट्रिय खेलकुद एरिनामा नेपालले दरिलो उपस्थिति जनाउन सक्ने उल्लेख गरिन् ।

उनले खेलाडीहरुलाई खेलकुदको मान राख्न पनि आग्रह गरिन् ।

प्रतियोगिता गएको चैत २७ गतेदेखि चलिरहेको भएपनि उद्घाटन बाँकेको नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुकीमात्र गरेकी हुन् ।

उद्घाटनमा विभिन्न भाषा र संस्कृति झल्किने सांस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो ।

यही वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ ।

मुलुकका सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी तथा गैरआवासीय नेपालीहरुको गरी ११ टोलीका ५ हजार २११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा समान ३७२ स्वर्ण र रजतपदक तथा ५६३ कास्यपदकका लागि भिडन्त भइरहेको छ ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजक प्रदेश–५ भएपनि पूर्वाधार अभावका कारण बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा खेलहरु भइरहेका छन् ।