११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


आठौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको कीर्तिमान


0
Shares

काठमाडौं, वैशाख ५ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत् बिहीबारदेखि दाङको बेलझुन्डीमा सुरु भएको एथ्लेटिक्सको पहिलो दिन १०० मिटर दौडमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले स्वर्णपदक जितेकी छन् ।

उनले १२.१९ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

यसैगरी, प्रदेश नम्बर–५ की जयरानी चौधरीले रजत जित्दा आर्मीकै कृष्णा चौधरीले कास्यपदक हात पारिन् ।

यसैगरी, १०० मिटर पुरुष दौडमा सशस्त्र प्रहरीका आशिष चौधरीले स्वर्णपदक जिते ।

११ सेकन्डमा दौड पूरा गरेका चौधरीले कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनारलाई एक शून्य सेकेन्डले पछाडि पार्दै स्वर्ण जितेका हुन् । आर्मीका आनन्ददेव चौधरी तेस्रो भए ।

१० हजार मिटर महिला प्रतिस्पर्धामा आर्मीकी विश्वरुपा बुढाले स्वर्ण जित्दा समान समयकी नेपाल पुलिस क्लबकी राजपुरा पछाइँले रजतमा चित्त बुझाइन् । यस्तै, प्रदेश नम्बर–३ की सन्तोषी श्रेष्ठले कास्यपदक जितिन् ।

१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण, गन्डकी प्रदेशका अनिष थापाले रजत तथा सशस्त्रका गोपीचन्द्र पार्कीले कास्यपदक जिते ।

नयाँ रकेर्ड

सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्णपदक जित्दा पुलिसका पुष्कल शर्माले रजत तथा आर्मीकै चित्रबहादुर वलीले कास्यपदक जितेका छन् ।

त्यस्तै, महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्णपदक जितिन् ।

उनले १२.०४ मिटरका साथ स्वर्णपदक जित्दा नयाँ रकेर्ड बनाइन् । उनले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन् ।

त्यसैगरी, प्रदेश नम्बर–५ की संगीता अधिकारीले रजत तथा पुलिसकी वसन्ती चौधरीले कास्यपदक जितिन् ।