Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


प्रधानमन्त्री दाहाललाई सुझाव–‘आलोचना गर्नेबाट खुसी र जयजयकार गर्नेबाट सतर्क हुनोस्’


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, साउन २४ । संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्नैपर्नेमा साना दलका सांसदले जोड दिएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसदको बैठकमा सोमबार बधाइ र शुभकामना दिँदै विभिन्न साना दलका नेता/सांसदले सो आग्रह गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘तीन ठूला दल नमिलेको भए संविधान बन्ने थिएन’ भन्दै ‘आलोचना गर्नेबाट खुसी हुन र जयजयकार गर्नेबाट सतर्क हुन’ सुझाव दिए ।

उनले संविधान कार्यान्वयन गर्न र देशलाई बचाउन तीन ठूला दल मिल्नैपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध विकास गर्न नयाँ सरकार सक्षम हुनुपर्ने बताए ।

नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्ने मधेसी मोर्चाका सांसद प्रतिपक्षमै बस्नुले तीनबुँदे सहमति सफल नहुने त होइन भन्ने प्रश्न खडा भएको भन्दै संविधान कार्यान्वयनमा सरकारले सफलता पाउनुपर्ने उल्लेख गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ‘नयाँ सरकारले वैदेशिक हस्तक्षेप रोक्न र प्रगतिशील कर कार्यान्वयन गर्न आवश्यक छ’–भने ।

नेकपा संयुक्तका जयदेव जोशीले गणतन्त्रलाई संस्थागत् गरी कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गरे ।

नेपाल परिवार दलका मिलनकुमार राजवंशीले प्रधानमन्त्री दाहालका प्रतिबद्धता पूरा होस् भन्ने कामना गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका शिवलाल थापाले तीन ठूला दल नमिलेमा संविधान कार्यान्वयनमा जटिलता आउने बताए ।

थरुहट तराई पार्टीका गंगा चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारले नयाँ संविधान कार्यान्वयन, भूकम्पपीडित जनतालाई थप राहत दिन प्राथमिकता दिन सुझाव दिए ।

समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले प्रधानमन्त्री दाहालको नेतृत्वमा बनेको वर्तमान सरकारले शान्ति–प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे ।

बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले ‘तराईका केही मानिसले आन्दोलन गर्दैमा एक मधेस एक प्रदेश बनाउन हुँदैन’–भने ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका रुक्मिणी चौधरीले ‘थरुहट आन्दोलनको माग पूरा गर्न नयाँ सरकारले ध्यान पुर्‍याओस्’–भनिन् ।

खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले ‘संविधान कार्यान्वयन र महँगी नियन्त्रणमा नयाँ सरकारले काम गर्नुपर्छ’–भने ।

जनजागण पार्टीका लोकमणि ढकालले प्रधानमन्त्री दाहालले ‘खोला तर्‍यो, लौरो बिस्र्याे’ भनेझैं सरकारको नेतृत्व गरेपछि भूकम्पपीडित जनताका अवस्थालाई नभुल्न आग्रह गरे ।

दलित जनजाति पार्टीका यशोदाकुमारी लामाले ‘प्रधानमन्त्री दाहालले सबै दललाई मिलाएर मन्त्रिमन्डल विस्तार गर्नुपर्छ’–भनिन् ।

व्यवस्थापिका–संसदको अर्काे बैठक यही साउन ३० गते आइतबार बिहान ११ बजे बस्नेछ । रासस