२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वसरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइन्छ : अर्थमन्त्री, नेप्सेमा चासो


0
Shares

                                                                   फाइल फोटो

काठमाडौं, साउन २५ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनैपनि राजनीतिक पूर्वाग्रह नराखी पूर्वसरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

अर्थमन्त्री महाराले भने–‘राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौं, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ।’

संसदले विनियोजन विधेयक पास गरिसकेको अवस्थामा बाँकी रहेका अरु विधेयकलाई चालु सदनबाटै पास गरिने स्पस्ट गर्दै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए ।

अर्थमन्त्री महराले भने–‘व्यवस्थापिका–संसदको यही सेसनबाट बाँकी विधेयक पारित हुन्छ ।’

पछिल्लो समयमा पुँजीबजारमा आएको उतार–चढावका विषयमा उनले भने–‘नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित छैन, पुँजीबजारलाई सरकार परिवर्तनसँग जोड्न मिल्दैन ।’

अर्थमन्त्री महराले पुँजीबजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग मंगलबारै छलफल गरेका थिए ।

छलफलकाक्रममा ‘पुँजीबजारमा देखिएको उतार–चढाव सरकार परिवर्तनले नभइ प्राविधिक एवं बजारको प्रकृतिअनुसार भएको हो, यसबाट लगानीकर्ता आत्तिनु नपर्ने’ निकर्ष रहेको उनको भनाइ थियोे ।

मन्त्री महराले पुँजीबजारका लगानीकर्तालार्ई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउँदै भने–‘सरकार र अर्थ मन्त्रालय निजी क्षेत्रलाई पूर्णविश्वासमा लिएर काम गर्न चाहन्छ, यसमा कुनै आशंका गर्नुपर्दैन ।’

उनले निजी क्षेत्रलाई विश्वासमा लिएर नै पुँजी विकास गर्न सरकार प्रतिबद्ध रहेने स्पस्ट पारे । रासस