प्रधानमन्त्री दाहालले मन्त्री नै पाएनन् • Image Khabar Image Khabar


प्रधानमन्त्री दाहालले मन्त्री नै पाएनन्


Imagekhabar
२६ श्रावण २०७३, बुधबार १३:४५

प्रधानमन्त्री दाहालले मन्त्री नै पाएनन्

काठमाडौं, साउन २६ । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तार गर्न कठिन हुँदै गइरहेको छ ।

सरकार गठनको एक साता बित्दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद विस्तारमा अन्योल बढेको हो ।

माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगियो । यसअघि प्रधानमन्त्री दाहालसँगै माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीले शपथ लिएका थिए । सोमबार दाहालले राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री चयन गरे पनि मुख्या सत्ता साझेदारबाटै नाम टुंगो नलाग्दा ती तीनजनालाई कुन मन्त्रालय दिने भन्ने पनि अन्योलै छ ।

स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री दाहाललाई नेविसंघको महाधिवेशनपछि मन्त्रीको टुंगो लगाउने जानकारी दिएको छ भने माओवादी केन्द्रमा मन्त्री हुन खोज्ने आकांक्षी धेरै भएकाले समस्या परिरहेको छ । सत्ता बाँडफाँट क्रममा माओवादीले प्राप्त गरेका पाँच मन्त्रालयमा दर्जनभन्दा बढीले हानथाप गरिरहेको एक हेडक्वार्टर सदस्यले जानकारी दिए ।

अन्य राजनीतिक दलको तुलनामा माओवादीले नै सर्वाधिक रुपमा समानुपातिक समावेशीको कुरा उठाउँदै आएको छ तर मन्त्री चयन गर्दा त्यसो नदेखिए पार्टी नै बदनाम हुन सक्ने भन्दै केही नेताले कुरा उठाइरहेका छन् ।

माओवादीले तीन–चार दिनमा मन्त्रीको टुंगो लगाउने तयारी गरेपनि कांग्रेममा भने अझै लामो समय लाग्ने सम्भावना छ ।

प्रधानमन्त्री दाहालले मन्त्री चयन गर्न नसक्दा मन्त्रालय काम चलाउ रुपमा कर्मचारीले चलाइरहेका छन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्