दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित) • Image Khabar Image Khabar


दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित)


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार ०१:०८

दुवाकोटमा यस्तो बन्दैछ अत्याधुनिक वीर अस्पताल, ६ वर्षमा ‘तयार’ (भिडियोसहित)

प्रज्ञा तिमल्सिना/सहदीप केसी (इमेज)
काठमाडौं, साउन २६ । आजभन्दा १ सय २७ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री वीर शम्शेरले स्थापना गरेको नेपालकै पुरानो र ठूलो अस्पताल वीर अस्पतालको अब स्वरुप परिवर्तन हुने भएको छ ।

पुरानो र राम्रो अस्पतालकोरुपमा चिनिएको वीर अस्पताल हिजोआज भने अव्यवस्थित अस्पतालकोरुपमा चिनिन थालेछ ।

तर, सरकारले हालै गरेको निर्णयपछि भने यस अस्पतालले आफ्नो स्वरुप परिवर्तन गर्ने आशा जागेको छ ।

पुरानो र ठूलो अस्पतालकोरुपमा चिनिएको वीर अस्पताल पछिल्ला दिनमा भने अव्यवस्थित अस्पतालकोरुपमा चिनिँदै आएको छ ।

उपचार प्रणाली, फोहोर व्यवस्थापन र बिरामीले राम्रो सेवा र सुविधा नपाएको गुनासोे वीर अस्पताल प्रशासनसँग आम उपभोक्ताको रहँदै आएको छ ।

पर्याप्त उपचारकक्ष नहुँदा धेरै बिरामी उपचार नै नपाएर फर्कनुपरेको बाध्यता उस्तै छन् । यसैलाई ध्यानमा राखेर सरकार वीर अस्पातालको क्षेत्र र सेवा दुबै विस्तार गर्ने निर्णयमा पुगेको छ ।

वीर अस्पतालको सेवा, सुविधालाई अत्याधुनिक र स्तरोन्नति गर्न सरकारले १५ अर्ब रुपैयाँ रकम खर्चन कम्मर कसेको हो ।

अस्पताल र शैक्षिक प्रतिष्ठान एकै स्थानबाट सन्चालन गर्नुपर्दा स्थान अभाव भएकाले सरकारले भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गा वीरको नाममा छुट्टयाइदिएको छ ।

जहाँ अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका गतिविधिका साथै अस्पतालका सेवा पनि सन्चालन गरिनेछ । यही योजनाअन्तर्गत् वीर अस्पतालको क्षमता पनि विस्तार गरिनेछ ।

हाल कायम ६५० शैयालाई अरु ६५० नै थपगरी १३ सय पुर्‍याइनेछ भने ट्रमा सेन्टरमा रहेको २ सय शैयासम्म जोड्दा विस्तारित वीरको क्षमता १५ सय शैया पुर्‍याइनेछ ।

क्षमतामात्र नभइ सेवा र गुणस्तरमा पनि उत्तिकै ध्यान दिने गरी योजना बनाइएको छ ।

६ वर्षभित्र पूर्णरुपमा सन्चालनमा आएपछि दुवाकोटस्थित संरचनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत्का सबै काम हुनेछ ।

जहाँ एमडी, एमएस, एमडीएस, डीएम/एमसीएच जस्ता विशेषज्ञ तथा नर्सिङ, रेडियोलोजी, रेडियोग्राफर, रेडियो इमेजिङलगायत विषयको शैक्षिक कार्यक्रम सन्चालन गरिनेछ ।

शैयाका अतिरिक्त, १५ ओटा अपरेसन थिएटर, ३० ओटा आइसीयूकक्ष पनि दुवाकोटमा रहने र त्यहाँबाट सर्वसुलभ सेवा दिने लक्ष वीर अस्पतालको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्