पुलिस र आर्मी नेपाल कप फुटबलको सेमिफाइनलमा • Image Khabar Image Khabar


पुलिस र आर्मी नेपाल कप फुटबलको सेमिफाइनलमा


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार ०१:५७

पुलिस र आर्मी नेपाल कप फुटबलको सेमिफाइनलमा

चितवन, साउन २७ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब चितवनको नारायणगढमा जारी चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नारायणगढस्थित क्याम्पाचौरमा विहीबार भएको क्वार्टरफाइनलमा विभागीय टोली पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एभरेस्टविरुद्ध हावी भएको पुलिसका लागि सुमन लामाले २ र रवि पासवानले १ गोल गरे ।

अब पुलिसले सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र ब्वाइज युनियन क्लबबीचको विजेतासँग खेल्नेछ ।

यस्तै, विहीबारै भएको अर्को क्वार्टरफाइनलमा विजयी हुँदै आर्मी पनि सेमिफाइनलमा पुगेको छ ।

आर्मीले वीरगन्ज युथ एकेडेमीलाई ३–० ले पराजित गर्‍यो । आर्मीलाई जिताउन भरत खवास, दीपक गुरुङ र दीप लामाले समान एक–एक गोल गरे ।

पहिलो हाफमा दुबै टिमले गोल गर्न नकसेपनि दोस्रो हाफमा आर्मीले लगातार ३ गोल गरेको थियो ।

आर्मीले अब सेमिफाइनलमा न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्